हान्टाभाइरस संक्रमित क्रुज जहाजबाट १७ अमेरिकी नागरिकको उद्धार, एक जनामा सङ्क्रमण


प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार

तस्वीर स्रोत : सिन्ह्वा/रासस

अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेज (एचएचएस)ले हान्टाभाइरसको संक्रमण देखिएको विलासी क्रुज जहाजबाट उद्धार गरिएका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको एन्डिज स्ट्रेनको हल्का संक्रमण पुष्टि भएको जनाएको छ। अर्का एक यात्रुमा पनि हल्का लक्षण देखिएको भए पनि संक्रमण पुष्टि हुन बाँकी रहेको बताइएको छ।

आइतबार सार्वजनिक गरिएको विवरणअनुसार सबै अमेरिकी नागरिकलाई विशेष हवाई उद्धारमार्फत अमेरिका लगिँदैछ। लक्षण देखिएका दुई यात्रुलाई भने विमानभित्रको विशेष बायोकन्टेनमेन्ट युनिटमा राखेर सुरक्षित रूपमा सारिएको एचएचएसले जनाएको छ।

हान्टाभाइरस सामान्यतया मुसा तथा अन्य कृन्तक जनावरमार्फत फैलिने भाइरस हो। तर, एन्डिज स्ट्रेन दुर्लभ रूपमा मानिसबाट मानिसमा पनि सर्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यद्यपि, संक्रमण व्यापक रूपमा फैलिने जोखिम कम रहेको उनीहरूको भनाइ छ।

विश्व स्वास्थ्य संगठनको शुक्रबारको अद्यावधिकअनुसार एमभी होन्डियसमा यात्रा गरेका आठ जना बिरामी परेका छन्। तीमध्ये छ जनामा हान्टाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण एक डच दम्पती र एक जर्मन नागरिकको मृत्यु भइसकेको छ।

जहाजमा फैलिएको एन्डिज स्ट्रेनको हान्टाभाइरसले गम्भीर फोक्सोसम्बन्धी समस्या निम्त्याउन सक्ने र संक्रमितमध्ये ५० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहेको डब्लुएचओले चेतावनी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयको समन्वयमा गरिएको एयरलिफ्ट अभियानमार्फत यात्रुहरूलाई युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरअन्तर्गतको एएसपीआर रिजनल इमर्जिङ स्पेसल प्याथोजन ट्रीटमेन्ट सेन्टर (रेस्प्टक)मा लगिनेछ। हल्का लक्षण देखिएका यात्रुलाई भने अर्को विशेष उपचार केन्द्रमा राखिने बताइएको छ।

एचएचएसका अनुसार उद्धार गरिएका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिनेछ भने अवस्थाअनुसार उपचार तथा निगरानीमा राखिनेछ।

यसैबीच, स्पेन र फ्रान्सले पनि जहाजमा रहेका आफ्ना नागरिकलाई उद्धार गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com