अमेरिकाले किन रोक्यो कोभिड-१९ र दादुराविरुद्ध प्रयोग हुने खोपसम्बन्धी अध्ययनको प्रकाशन ?
प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार
अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)का अधिकारीहरूले कोभिड-१९ र सिङ्गल्स (दादुरा रोग)विरुद्ध प्रयोग हुने खोपहरूको सुरक्षासम्बन्धी समर्थन गर्ने केही अनुसन्धान अध्ययनहरूको प्रकाशन रोकिदिएको छ ।
अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेज (एचएचएस)का प्रवक्ता एन्ड्रयू निक्सनले ती अध्ययनहरूका निष्कर्षबारे गम्भीर प्रश्न उठेपछि प्रकाशन फिर्ता गरिएको जानकारी दिएका हुन् । उनका अनुसार अध्ययनमा प्रस्तुत निष्कर्षहरू उपलब्ध आधारभूत तथ्यांकसँग मेल नखाएको देखिएको थियो।
“ती अध्ययनहरू फिर्ता लिइएका हुन् किनभने लेखकहरूले प्रस्तुत गरेको व्यापक निष्कर्षहरूलाई आधारभूत डेटाले समर्थन गरेको थिएन। फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले आफ्नो वैज्ञानिक प्रक्रियाको निष्पक्षता जोगाउन र एजेन्सीसँग सम्बन्धित सबै काम उच्च मापदण्डअनुसार होस् भन्ने सुनिश्चित गर्न कदम चालेको हो,” उनले रोयटर्सलाई इमेलमार्फत बताएका छन्।
यी अध्ययनहरू फिर्ता लिइनु स्वास्थ्य नियामक निकाय र वर्तमान प्रशासनले खोपमा पहुँच सीमित गर्ने प्रयासको पछिल्लो कदम भएको बताइएको छ। यो परिवर्तन अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरको नेतृत्वमा देखिएको नीतिगत परिवर्तनसँग जोडेर हेरिएको छ, जो खोपप्रति आलोचनात्मक दृष्टिकोणका लागि परिचित छन्।
ट्रम्प प्रशासनले केनेडीको कार्यकालमा संघीय स्वास्थ्य निकायहरूमा व्यापक सुधार गर्दै खोप अनुसन्धानका लागि छुट्याइएको बजेटमा पनि ठूलो कटौती गरेको छ। साथै, खोपको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठाउने कदमहरू बढेका छन्।
गत वर्ष अगस्टमा अमेरिकी अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेज (एचएचएस)ले एमआरएनए खोप विकासमा करिब ५०० मिलियन डलरको लगानी क्रमश: समाप्त गर्ने निर्णय गरेको थियो। यसअन्तर्गत सरकार समर्थित बायोमेडिकल एडभान्स्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी (बार्डा)द्वारा सञ्चालित २२ वटा अनुसन्धान परियोजनाहरू रद्द गरिएको थियो।
गत जुनमा सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को एक प्यानल (जसलाई केनेडीको समर्थन रहेको बताइन्छ)ले फ्लू खोपमा प्रयोग हुने पाराधारित संरक्षक थिमेरोसाल हटाउने पक्षमा मतदान गरेको थियो। यद्यपि वैज्ञानिक अध्ययनहरूले यसको सुरक्षाबारे लामो समयदेखि समर्थन गर्दै आएका छन्।
ब्रिटिश औषधि निर्माता जीएसकेले सिङ्गल्स (दादुरा)विरुद्ध प्रयोग हुने ‘शिंग्रिक्स’ खोप उत्पादन तथा बजारमा ल्याएको छ, जुन छालामा फोका र दागसहितको पीडादायी भाइरल संक्रमण विरुद्ध प्रयोग गरिन्छ। त्यस्तै, कोभिड–१९ खोप उत्पादनमा फाइजर र मोडर्ना प्रमुख कम्पनीहरूका रूपमा रहेका छन्।





