क्यानडा र युरोपेली संघबीच ऐतिहासिक साझेदारी: क्यानडालाई पहिलो सह-सदस्य बनाउने तयारी
प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार
तस्बिर : अलेक्जान्द्र लालमाँड / अनस्प्लास
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँगको ऐतिहासिक साझेदारी वार्ता आगामी जुन महिनासम्ममा टुङ्ग्याउने अपेक्षा व्यक्त गरेका छन्। यस साझेदारीले क्यानडालाई युरोपेली संघको पहिलो सह-सदस्य बनाउनेछ, यद्यपि दुवै पक्षद्वारा जारी संयुक्त घोषणापत्रमा यो शब्द भने समावेश गरिएको छैन।
प्रधानमन्त्री कार्नीले आगामी जुनमा हुने युरोपेली नेताहरूको बैठकमा सहभागी भई पूर्ण सदस्यताभन्दा मुनिको यो प्रस्तावित सम्बन्धलाई अन्तिम रूप दिने बताए। मोन्ट्रियलमा सम्पन्न दुई दिने शिखर सम्मेलनको अन्त्यमा जारी संयुक्त घोषणापत्रमा “सह-सदस्यता” को स्पष्ट उल्लेख नभए पनि, नेताहरूले सन् २०२७ मा हुने अर्को शिखर सम्मेलनसम्ममा थप नजिकको सम्बन्ध स्थापित गर्न सहमति जनाएका छन्।
प्रधानमन्त्री कार्नी, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त रूपमा भविष्यका लागि गठबन्धनको सुरुआत गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण परम्परागत मित्रराष्ट्रहरूसँगको सम्बन्धमा तनाव उत्पन्न भइरहेका बेला क्यानडा र युरोपले आर्थिक स्वतन्त्रता प्रवर्धन गर्ने उद्देश्यले यो कदम चालेका हुन्।
क्यानडा र युरोपेली संघबीच डिजिटल व्यापार सम्झौतामा महत्त्वपूर्ण सहमति भएको छ, जसले अटलान्टिक क्षेत्रमा व्यवसाय सञ्चालन र डाटा आदानप्रदान सहज बनाउनेछ। साथै, अस्वस्थ व्यावसायिक प्रतिस्पर्धा रोक्न र उपभोक्ताका लागि मूल्य घटाउन प्रतिस्पर्धात्मक सम्झौतासमेत सम्पन्न भएको छ।
युरोपेली लगानी बैंकसँगको सम्झौताले क्यानाडाका महत्त्वपूर्ण खनिजहरूमा युरोपेली लगानीलाई प्रोत्साहन गर्नेछ, जुन विद्युतीय सवारी साधनदेखि रक्षा उद्योगका लागि अत्यावश्यक मानिन्छन्।
क्यानाडा युरोपेली सुपरकम्प्युटिङ पहलमा सहभागी हुनेछ। प्रधानमन्त्री कार्नीका अनुसार युरोपको ‘जुपिटर’ सुपरकम्प्युटरले एकै दिनमा गर्ने गणना क्यानडाको सबैभन्दा शक्तिशाली अनुसन्धान कम्प्युटरलाई गर्न छ महिना लाग्छ।
दुवै पक्षले अन्तरदेशीय रकम स्थानान्तरणलाई द्रुत र सस्तो बनाउन आफ्ना इन्स्ट्यान्ट-पेमेन्ट प्रणालीहरूलाई जोड्ने सम्भाव्यता अध्ययन गर्नेछन्। साथै, ‘इरास्मस प्लस’ विद्यार्थी विनिमय कार्यक्रम विस्तार गरी युवाहरूलाई अध्ययन र कामको अवसर सहज बनाइनेछ।
क्यानाडाबाट युरोपमा तरल प्राकृतिक ग्यास निर्यातको सम्भाव्यता अध्ययन गरिनेछ। यसका साथै सीमा सुरक्षा, रक्षा, साइबर सुरक्षा, आर्कटिक सुरक्षा र बाह्य हस्तक्षेपविरुद्ध सहकार्य बढाउन दुवै पक्ष सहमत भएका छन्।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले यो गठबन्धन युरोपेली संघले गैर-युरोपेली मुलुकसँग कायम गरेको हालसम्मकै सबैभन्दा नजिकको सम्बन्ध हुने बताए। यस्तै, युरोपेली आयोगकी अध्यक्ष भोन देर लेयनले क्यानाडालाई पूर्ण सदस्य बनाउन नसकिए पनि सम्भव भएसम्म नजिकको साझेदार बनाउनु नै आफ्नो लक्ष्य रहेको स्पष्ट पारिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको यो कदमलाई “शत्रुतापूर्ण कार्य” को संज्ञा दिँदै अतिरिक्त शुल्क लगाउने चेतावनी दिएका छन्। सन् २०२५ मा क्यानडाको कुल वस्तु निर्यातको ७१.७ प्रतिशत हिस्सा अमेरिकामा सीमित रहेको सन्दर्भमा, आगामी दशकमा अन्य देशहरूमा निर्यात दोब्बर बनाउने लक्ष्य राखेका प्रधानमन्त्री कार्नीका लागि यो सहकार्य रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ।





