अमेरिकामा आइसको हिरासतमा ३३ वर्षीय आप्रवासीको मृत्यु, आत्महत्याको आशङ्का
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को जर्जियास्थित हिरासतमा एक क्युबाली आप्रवासीको मृत्यु भएको छ। अधिकारीहरूले उक्त घटना आत्महत्या हुनसक्ने आशंका गरेका छन्।
३३ वर्षीय डेनी अदान गोन्जालेजलाई मंगलबार स्टीवर्ट डिटेन्सन सेन्टरमा रहेको आफ्नो कोठामा अचेत अवस्थामा फेला पारिएको थियो। उनलाई एक घण्टाभित्रै मृत घोषणा गरिएको आइसले शुक्रबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ।
रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापक निर्वासन अभियान अन्तर्गत आप्रवासीहरूलाई ठूलो संख्यामा हिरासतमा राख्ने नीति अघि बढाइरहेका छन्। सन् २०२५ मा ट्रम्पले पदभार सम्हाल्दा ४० हजार रहेको आइस हिरासतको संख्या हाल ६० हजार पुगेको छ । साथै, यस वर्ष अझै बढ्ने संकेत देखिएको छ।
गत वर्ष आइस हिरासतमा रहेका आप्रवासीहरूको मृत्यु संख्या दुई दशकयताकै उच्च बिन्दुमा पुगेको थियो। चालु वर्षको पहिलो चार महिनामै १८ जनाको मृत्यु भइसकेको छ, जसले चिन्ता थपेको छ।
आइसका अनुसार गोन्जालेज मे २०१९ मा टेक्सासस्थित प्रवेश नाकाबाट अमेरिका प्रवेश गरेका थिए । तर, “प्रवेश अयोग्य” ठहर गर्दै जनवरी २०२० मा फिर्ता पठाइएको थियो। पछि उनले २०२२ मा गैरकानुनी रूपमा अमेरिका–मेक्सिको सीमा पार गरी पुनः अमेरिका प्रवेश गरेका थिए ।
पछि उनलाई नर्थ क्यारोलिनाको शार्लोटस्थित मेक्लेनबर्ग काउन्टी शेरिफको कार्यालयले महिलामाथि आक्रमण तथा घरेलु हिंसाको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि उनलाई आइसको नियन्त्रणमा लिएर जनवरी २०२६ मा स्टुअर्ट डिटेन्सन सेन्टरमा सारिएको थियो।
जर्जियाको ग्रामीण शहर लम्पकिनमा रहेको उक्त केन्द्र निजी कारागार कम्पनी कोरसिभिकद्वारा सञ्चालनमा छ। कम्पनीका प्रवक्ता रायन गस्टिनले गोन्जालेजलाई अचेत अवस्थामा भेटिएलगत्तै चिकित्सक टोलीले तुरुन्तै जीवनरक्षक प्रयास थालेको बताएका छन्।
“हाम्रो निगरानीमा रहेका कुनै पनि व्यक्तिको मृत्युले हामीलाई गहिरो दुःखी बनाउँछ । हामी यसलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छौं,” गस्टिनले भने।
सन् २००६ मा स्थापना भएको स्टुअर्ट डिटेन्सन सेन्टरको दुर्गम स्थान, कडा वातावरण तथा कमजोर स्वास्थ्य सेवाका कारण आप्रवासी अधिकारकर्मीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन्।
यसैबीच, सन् २०२५ मा अमेरिकी संसद (कांग्रेस)बाट पारित रिपब्लिकन समर्थित ठूलो खर्च प्याकेजले आइसलाई सन् २०२९ सेप्टेम्बरसम्म हिरासत विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराएको छ।
अप्रिलमा सार्वजनिक गरिएको बजेट विवरणअनुसार आइसले आर्थिक वर्ष २०२६ र २०२७ मा औसत ९९ हजार आप्रवासीलाई हिरासतमा राख्ने लक्ष्य राखेको जनाएको छ।





