बालबालिका सुरक्षाको नाममा देशनिकालाको डर, विवादास्पद कम्पनीसँग आईसको सम्झौता
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले अमेरिकामा एक्लै आएका र हाल विभिन्न अभिभावक वा प्रायोजकहरूसँग बसिरहेका आप्रवासी बालबालिकाहरूको खोजी गर्न एक विवादास्पद निजी सुरक्षा कम्पनीलाई करोडौँको ठेक्का दिएको छ। ‘एमभीएम इंक’ नामक उक्त कम्पनीमाथि विगतमा बालबालिकालाई यातना दिएको र जबरजस्ती बेपत्ता पारेको गम्भीर आरोपहरू लाग्दै आएका छन्। सरकारी दस्ताबेज अनुसार, आईसले यी बालबालिकाहरूको अवस्था बुझ्न ‘सेफ्टी एण्ड वेलनेस चेक’ गर्ने नाममा यो कदम चालेको हो।
एजेन्सीले यस कार्यलाई बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्ने र उनीहरू बेचबिखनमा परेका छन् कि छैनन् भनी हेर्ने उद्देश्य बताए पनि आन्तरिक दस्ताबेजहरूले भने अर्कै सङ्केत गरेका छन्। ‘द गार्डियन’ ले समीक्षा गरेको एक रिपोर्ट अनुसार, यो अपरेसनको वास्तविक उद्देश्य ती बालबालिका वा उनीहरूलाई शरण दिने प्रायोजकहरू विरुद्ध आपराधिक मुद्दा चलाउनु वा उनीहरूलाई देशनिकाला गर्नु रहेको छ। अधिकारवादीहरूले यसलाई “पछाडिको ढोकाबाट परिवार छुट्याउने रणनीति” को संज्ञा दिएका छन्।
भर्जिनियामा मुख्यालय रहेको एमभीएम इंकका विरुद्ध सन् २०२४ मा क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरिएको थियो। दुई ग्वाटेमालाली बुबा र छोराछोरीले दायर गरेको उक्त मुद्दामा कम्पनीले सन् २०१७ को ‘फेमिली सेप्रेसन’ नीतिका बेला बालबालिकाहरूलाई जबरजस्ती आमाबाबुबाट छुट्ट्याएर अज्ञात स्थानमा राखेको आरोप लगाइएको छ। सन् २०२५ को मार्चमा अदालतले केही दाबीहरू खारेज गरे पनि यातना र अमानवीय व्यवहार सम्बन्धी गम्भीर आरोपहरूमा भने सुनुवाइ जारी राख्ने अनुमति दिएको छ।
आप्रवासी अधिकारका लागि काम गर्ने संस्थाहरूले यो सम्झौताको कडा विरोध गरेका छन्। उनीहरूका अनुसार, यी बालबालिकाहरू कतै हराएका छैनन् र उनीहरूको ठेगाना सरकारी रेकर्डमा नहुनु प्रशासनको कमजोरी हो। बालबालिकाको सुरक्षा जाँच गर्ने नाममा निजी कम्पनी परिचालन गर्दा आप्रवासी समुदायमा त्रास फैलने र यसले बालबालिकाहरूको मानसिक स्वास्थ्यमा थप नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरिएको छ।





