ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लागेका एलन हिरासतमै रहने
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसद्वारा अदालतमा पेश गरिएको फाइलिङमा समावेश तस्वीरमा कोल टोमस एलन आफ्नो होटल कोठाभित्र ऐनाअगाडि उभिएर सेल्फी खिच्दै देखिन्छन्। तस्वीर : अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लागेका ३१ वर्षीय कोल एलनले आफ्नो मुद्दा अगाडि बढ्दै जाँदा हिरासतमै रहने सहमति जनाएका छन्। बिहीबार भएको अदालत सुनुवाइमा उनका वकिल तेजिरा एबेले एलनले तत्काल सरकारी वकिलहरूको दाबी (उनी समुदायका लागि खतरा भएको र जेलमै राखिनुपर्ने) लाई चुनौती नदिने बताएका हुन् ।
अभियोजन पक्षका अनुसार एलनले शनिबार वाशिङ्टनस्थित ह्वाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनर नजिक सुरक्षा जाँच चौकी तोड्दै शटगनबाट गोली चलाएका थिए। सो घटना वाशिङ्टन हिल्टन होटलमा आयोजित एक ब्ल्याक(टाइ कार्यक्रममा भएको थियो, जहाँ करिब २,६०० पत्रकार, राजनीतिज्ञ तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
अभियोजकहरूले एलनले राष्ट्रपति ट्रम्पसहित प्रशासनका उच्च पदस्थ अधिकारीहरूलाई लक्षित गर्दै योजनाबद्ध आक्रमण गरेको दाबी गरेका छन् ।
अदालतमा पेश गरिएको कागजातअनुसार उनी क्यालिफोर्नियाबाट रेलमार्ग हुँदै वाशिङ्टन आएका थिए । उनले साथमा शटगन, .३८ क्यालिबर पिस्तोल, चक्कु तथा खुकुरी बोकेका थिए। उनी अमेरिकी सरकारका उच्च अधिकारीहरू भरिएको कोठाभित्र सामूहिक गोलीकाण्ड गर्न तयार रहेको अभियोग लगाइएको छ।
एलनमाथि हत्या प्रयास, हिंसात्मक अपराधका क्रममा गोली चलाउने तथा राज्य सीमापार गैरकानुनी रूपमा हतियार र गोलीगठ्ठा ओसारपसार गर्ने आरोप लगाइएको छ। उनले हालसम्म अदालतमा औपचारिक बयान (प्ली) दिएका छैनन्।
बचाउ पक्षका वकिलहरूले सरकारी दाबीमा कमजोरी रहेको बताउँदै विशेषगरी एलनले सिक्रेट सर्भिस एजेन्टलाई गोली हानेको भन्ने प्रारम्भिक आरोपमाथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार एलनको कुनै आपराधिक पृष्ठभूमि छैन । उनी आफ्नो क्रिश्चियन चर्च समुदायसँग सक्रिय रूपमा जोडिएका व्यक्ति हुन्।
यता अभियोजकहरूले अदालतमा एजेन्टलाई गोली लागेको भन्ने औपचारिक आरोप भने नलगाएको जनाएका छन्। ती एजेन्टलाई गोली लागेको भए पनि बुलेटप्रुफ भेस्टका कारण गम्भीर चोटबाट जोगिएको बताइएको छ।
कागजातअनुसार एलनले शटगन बलरुमतर्फ जाने सिँढीतर्फ चलाएका थिए। घटनास्थलमा खटिएका सिक्रेट सर्भिस एजेन्टले ठूलो आवाज सुनेका थिए भने शटगनको नालमा प्रयोग भएको खोका फेला परेको उल्लेख छ।
अभियोजकहरूले एलनले ट्रम्पलाई लक्षित गर्ने उद्देश्य राखेको दाबी गर्दै उनको इमेललाई प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। उक्त इमेल उनले घटनाको रात आफन्तहरूलाई पठाएको र त्यसमा ट्रम्पलाई ‘देशद्रोही’ तथा ‘अपराधी’ जस्तो संकेत गरिएको उल्लेख छ। इमेलमा ट्रम्पको नाम प्रत्यक्ष रूपमा उल्लेख नभए पनि प्रशासनका उच्चदेखि तल्लो तहसम्मका अधिकारीहरूलाई लक्षित गर्ने भाषा प्रयोग गरिएको अभियोजनको भनाइ छ।





