अमेरिकी सदनद्वारा आप्रवासन कार्यान्वयनका लागि थप ७० बिलियन डलरको रूपरेखा अनुमोदन


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले तीन वर्षे बजेट योजना पारित गरेको छ, जसले अध्यागमन प्रवर्तन गतिविधिका लागि ठूलो रकम छुट्याउने बाटो खोलेको छ। बुधबार भएको मतदानमा २१५ मत पक्षमा र २११ मत विपक्षमा परेपछि उक्त प्रस्ताव पारित भएको हो। विशेष रूपमा, योजनाको पक्षमा कुनै पनि डेमोक्र्याट सदस्यले समर्थन जनाएनन्।

यो बजेट प्रस्तावअनुसार संघीय एजेन्टहरूले सञ्चालन गर्ने अध्यागमन नियन्त्रण गतिविधिका लागि करिब ७० बिलियन अमेरिकी डलर विनियोजन गरिनेछ। मतदान अघि हाउस अफ रिप्रेजेन्टेटिभ्सका स्पिकर माइक जोन्सनले आफ्नै दलका रिपब्लिकन सांसदहरूलाई सहमत गराउन मतदान प्रक्रिया पाँच घण्टाभन्दा बढी समयसम्म खुला राखेका थिए। कृषि प्रधान राज्यका केही रिपब्लिकन सांसदहरूले इथानोल मिश्रित ग्यासोलिनको बिक्री विस्तारबारे भविष्यमा छुट्टै मतदान गरिने आश्वासन मागेपछि सहमति जुट्न ढिलाइ भएको बताइएको छ।

उक्त योजना यसअघि नै सिनेटबाट अप्रिल २३ मा पारित भइसकेको छ। अब दुवै सदनका रिपब्लिकनहरूले बजेट प्रस्तावको विस्तृत खाका तयार गरी डोनाल्ड ट्रम्प समक्ष प्रमाणीकरणका लागि पठाउने तयारी गरेका छन्।

रिपब्लिकनहरू आगामी मे महिनाभित्रै यो कानुन पारित गर्ने लक्ष्यमा छन्। यसका लागि उनीहरूले ‘रिकन्सिलिएसन’ भनिने विशेष र कम प्रयोग हुने संसदीय प्रक्रिया अपनाउने तयारी गरेका छन्, जसले डेमोक्र्याटहरूको समर्थनबिनै सिनेटबाट विधेयक पारित गर्न सक्ने बनाउँछ। गत वर्ष पनि यही प्रक्रियामार्फत ट्रम्प प्रशासनको आम देशनिकाला अभियानलाई सघाउन अध्यागमन तथा सीमा सुरक्षा निकायहरूका लागि करिब १३० बिलियन डलर विनियोजन गरिएको थियो।

यता, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएच)अन्तर्गतका विभिन्न एजेन्सीहरू भने बजेट अभावको जोखिममा छन्। सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक वर्षका लागि आवश्यक कोष विधेयकमा सहमति जुट्न नसके सिक्रेट सर्भिस, कोस्ट गार्ड र फेमा जस्ता निकायहरूको कोष रित्तिन सक्ने भन्दै ह्वाइट हाउसले चेतावनी दिएको छ।

यद्यपि सिनेटले यसअघि नै सम्बन्धित कोष विधेयक पारित गरिसकेको छ, तर हाउसका रिपब्लिकन सदस्यहरूबीच असहमति कायमै रहेकाले अन्तिम निर्णयमा अन्योल देखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com