अस्टिनमा कन्सुलर शिविर: २७२ जनाले लिए सेवा


प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार

फोटो : रासस

अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आयोजित कन्सुलर घुम्ती शिविरबाट २७२ जना नेपालीले सेवा लिएका छन्। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा अस्टिनमा सञ्चालित दुईदिने शिविरबाट उनीहरूले सेवा प्राप्त गरेका हुन्।

ग्रेटर अस्टिन नेपाली समाजको समन्वयमा वैशाख १४ र १५ गते आयोजना गरिएको उक्त राहदानी तथा कन्सुलर शिविरमा राहदानी जारी तथा नवीकरण गर्ने नेपालीको संख्या २६७ रहेको छ। यसका साथै वारेसनामा (१), एकतर्फी यात्रा अनुमतिपत्र (३) र एनआरएन कार्ड (१) गरी कुल २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिए।

अमेरिकाका विभिन्न नौ राज्यमा बसोबास गर्ने नेपालीलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो। उपमहावाणिज्यदूत जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो।

भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति अनुरूप यो कार्यक्रम आयोजना गरिएको हो। भौगोलिक रूपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले लामो समयदेखि राहदानी तथा कन्सुलर शिविरको माग गर्दै आएका थिए।

शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाजले सहयोग गरेको थियो। सेवा प्रवाहमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारी लगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए ।।

अस्टिनमा सम्पन्न शिविरलाई सफल बनाउन सहयोग गर्ने ग्रेटर अस्टिन नेपाली समाजसहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ। रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com