बुबा अमेरिकी नागरिक, १२ वर्षीय छोरालाई देश निकाला गर्ने तयारी
अमेरिकामा एक १२ वर्षीय बालकलाई देशनिकालाको प्रक्रियामा लगिएपछि मानव अधिकारवादी तथा अध्यागमन कानुन व्यवसायीहरूबीच तीव्र आक्रोश उत्पन्न भएको छ। उक्त बालकका पिता अमेरिकी नागरिक रहेको पुष्टि भइसकेको साथै उनले आफ्नो छोराको रूपमा स्वीकार गर्दै शपथपत्रसमेत पेश गरिसकेका भए पनि नागरिकता प्रक्रियामा जटिलता देखिएको हो।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस)ले पिताको डीएनए परीक्षण बिना नागरिकता प्रमाणित गर्न अस्वीकार गरेपछि बालकको अवस्था अन्योलपूर्ण बनेको छ। यसले बालकलाई कानुनी रूपमा अमेरिकी नागरिकता प्राप्त गर्नबाट वञ्चित गरेको छ भने देशनिकालाको खतरा समेत बढाएको छ।
अध्यागमन अधिवक्ता मार्गरेट स्टकका अनुसार बालकका पिता अमेरिकी नौसेनाका अवकाशप्राप्त कर्मचारी हुन्। उनले आफ्नो छोराको पालनपोषण, आर्थिक सहयोग तथा पितृत्वको सम्पूर्ण जिम्मेवारी लिने लिखित प्रतिबद्धता जनाइसकेका छन्। तर, पिताले डीएनए परीक्षण गराउन अस्वीकार गरेपछि युएससीआईएसले ‘एन(६००’ (नागरिकता प्रमाणपत्र) सम्बन्धी आवेदन खारेज गरिदिएको हो। यस निर्णयसँगै बालकले आफ्नो नागरिकता प्रमाणित गर्ने आधार गुमाएको छ।
यो घटनाले अमेरिकी अध्यागमन प्रणालीको कठोरता र त्यसले बालबालिकामाथि पारिरहेको प्रभावलाई पुनः उजागर गरेको छ। विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले ‘जन्मसिद्ध नागरिकता’ अन्त्य गर्ने कार्यकारी आदेश ल्याउने प्रयास गरिरहेको सन्दर्भमा यस मुद्दालाई निकै संवेदनशील रूपमा हेरिएको छ।
अधिवक्ता स्टकका अनुसार, यदि यस्तो नीतिगत परिवर्तन लागू भएमा हजारौँ बालबालिकाहरू आफ्नो जैविक सम्बन्ध प्रमाणित गर्न नसक्दा नागरिकता अधिकारबाट वञ्चित हुन सक्नेछन् भने देशनिकालाको जोखिममा पर्न सक्नेछन्।
यसअघि पनि अप्रिलमै एक ८५ वर्षीया वृद्धालाई पारिवारिक अंशबण्डा विवादका कारण देशनिकाला गरिएको घटना सार्वजनिक भएको थियो। पछिल्ला यस्ता घटनाहरूले अमेरिकी अध्यागमन संयन्त्र व्यक्तिगत विवाद समाधान वा प्रतिशोधको माध्यम बन्न थालेको आरोपसमेत उठ्न थालेको छ।
हाल उक्त १२ वर्षीय बालकको भविष्य अनिश्चित बनेको छ। बालकका पिताको डीएनए रेकर्ड अमेरिकी नौसेनासँग उपलब्ध रहेको दाबी गरिए पनि सम्बन्धित निकायले त्यसलाई औपचारिक रूपमा मगाउन चासो नदेखाएको आरोप लगाइएको छ। मानव अधिकारकर्मीहरूले तत्काल हस्तक्षेप गरी बालकको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।





