अमेरिकामा अध्यागमन कडाइको असर : डरले कामदार गायब, शिकागोमा निर्माण साइट सुनसान


प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार

शिकागो, अमेरिका । तस्वीर : अनस्प्लासबाट

अमेरिकाको शिकागो र आसपासका क्षेत्रमा सञ्चालित आवासीय निर्माण परियोजनाहरू कामदार अभावका कारण क्रमशः प्रभावित हुँदै ठप्प हुन थालेका छन्। निर्माण कम्पनीहरूले पर्याप्त र भरपर्दो जनशक्ति जुटाउन नसक्दा धेरैजसो परियोजनाहरू समयमै सम्पन्न हुन नसकी पछाडि धकेलिएका छन्।

विशेषगरी इन्टरस्टेट-३५५ को पश्चिमतर्फ रहेका ठेकेदारहरू सीमित कामदारको भरमा काम सञ्चालन गर्न बाध्य भएका छन्। दक्ष जनशक्ति अभावका कारण कम्पनीहरूले कामदार आकर्षित गर्न ज्याला, बोनस तथा ओभरटाइम भुक्तानीमा उल्लेखनीय वृद्धि गरेका छन्, जसले निर्माण लागत झन् महँगो बनाएको छ।

यो समस्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनद्वारा अघि सारिएको कडा अध्यागमन नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ। अध्यागमन प्रवर्तन कडाइका कारण श्रम बजारमा उल्लेखनीय असर परेको छ। विशेषगरी छाना छाउने, काठको संरचना बनाउने, कंक्रिट बिछ्याउने र ल्याण्डस्केपिङ जस्ता क्षेत्रमा विदेशी मूलका कामदारहरूको ठूलो योगदान रहने भएकाले यी क्षेत्रमा कामदार अभाव झन् गम्भीर बनेको हो।

अध्यागमन निकायहरूको छापा र पक्राउ पर्ने त्रासका कारण धेरै कामदारहरू काममा उपस्थित हुन हिच्किचाउन थालेका छन्। यसले निर्माण कार्यमा ढिलाइ, परियोजना लागत वृद्धि र अन्ततः उपभोक्तामा थप आर्थिक भार पर्ने अवस्था सिर्जना गरेको छ।

तथ्याङ्कअनुसार इलिनोइ राज्यमा मात्र सन् २०२६ भित्र निर्माण क्षेत्रका २ लाखभन्दा बढी दक्ष कामदारको अभाव देखिएको छ। ‘कन्स्ट्रक्सन इन्डस्ट्री रिसोर्सेस’ का अनुसार राज्यमा तत्काल ५८,९५८ साधारण मजदुर, ४२,११३ सिकर्मी र १९,९०७ डकर्मी आवश्यक छन्।

पुराना कामदारहरूको अवकाश, नयाँ पुस्ताको निर्माण क्षेत्रमा घट्दो आकर्षण र आप्रवासी कामदारमाथिको निर्भरताका कारणले संकट गहिरिँदै गएको विश्लेषण गरिएको छ । शिकागो क्षेत्रको निर्माण क्षेत्रमा करिब ३२ दशमलव ५ प्रतिशत कामदार विदेशी मूलका रहेको अनुमान छ।

यसबीच, होम डिपो र मेनार्ड्स जस्ता ठूला स्टोरहरूको विस्तारले निर्माण सामग्रीको उपलब्धता र मूल्यमा केही सहजता ल्याए पनि श्रम लागत भने निरन्तर उकालो लागिरहेको छ।

अर्कोतर्फ, कागजातविहीन कामदारहरूको अवस्थासमेत चिन्ताजनक बनेको छ। अध्यागमन कारबाहीको डरका कारण उनीहरू खुला रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेका छन्। कतिपय रोजगारदाताले यस अवस्थाको फाइदा उठाउँदै न्यून पारिश्रमिक दिने वा भुक्तानी नै नगर्ने जस्ता श्रम शोषणका घटना समेत सार्वजनिक भइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माण क्षेत्रका सरोकारवालाहरूका अनुसार सन् २०२५ जनवरीयता मात्र अमेरिकी श्रम बजारबाट करिब १२ लाख कामदार बाहिरिएका छन्। एसोसिएटेड जनरल कन्ट्र्याक्टर्स अफ अमेरिकाले कृषि क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि विशेष भिसा कार्यक्रम ल्याउन संघीय सरकारसँग माग गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com