अमेरिकामा ट्रम्प प्रशासनको आप्रवासन दमन अभियानमा केही सुस्तता, तर नीतिगत कडाइ अझै जारी


प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार

आइस अधिकारी । फाइल तस्वीर

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको ‘टर्न एण्ड बर्न’ नाम दिइएको कडा आप्रवासन दमन अभियान पछिल्लो समयमा केही सुस्त देखिएको छ। मिनेसोटाको मिनियापोलिसमा दुई अमेरिकी नागरिकको हत्या र त्यसपछि देशभरि फैलिएको चर्को विरोधका कारण इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को पक्राउ दरमा राष्ट्रिय रूपमा करिब १२ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्कअनुसार डिसेम्बरमा करिब ४० हजार पक्राउ परेपनि नेतृत्व परिवर्तन र नीतिगत समायोजनपछि घट्न थालेको हो। हाल औसतमा साप्ताहिक रूपमा ७,३६९ जना पक्राउ पर्ने गरेको छन्, जुन अघिल्लो बाइडेन प्रशासनको तुलनामा अझै उल्लेखनीय रूपमा उच्च हो।

मिनेसोटामा रेनी गुड र एलेक्स प्रेटीको हत्यापछि सुरक्षासम्बन्धी जिम्मेवारी सम्हालेका कडा नीति समर्थक कमान्डर ग्रेगरी बोभिनोलाई पदमुक्त गरिएको छ। त्यस्तै, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) सेक्रेटरी क्रिस्टी नोएम पनि बर्खास्त भएकी छन्।

उनको स्थानमा ट्रम्प प्रशासनले सीमासम्बन्धी नीतिमा कडा अडान राख्ने मानिने ‘बोर्डर जार’ टम होमानलाई नयाँ मार्गचित्र तयार गर्न जिम्मा दिएको छ।

होमानले फेब्रुअरी ४ मा मिनेसोटामा तैनाथ एजेन्टहरूको संख्या घटाइने घोषणा गरे पनि संघीय स्तरमा आप्रवासन नियन्त्रण अझै कडा रहेको देखिन्छ।

पक्राउ दर सबै राज्यमा समान रूपमा घटेको छैन। मिनेसोटा र टेक्सासमा गिरफ्तारी केही घटेको छ भने केन्टकी, इन्डियाना र उत्तर क्यारोलिनामा भने उल्टै वृद्धि भएको छ । यस्तै, केन्टकीमा मात्रै साप्ताहिक गिरफ्तारी दोब्बर पुगेको छ ।

यसले आप्रवासन नीतिको कार्यान्वयन राज्यअनुसार फरक-फरक रूपमा भइरहेको संकेत गर्छ।

राष्ट्रपति ट्रम्पले बारम्बार ‘सबैभन्दा खराब अपराधीहरू’ मात्र लक्षित गरिएको दाबी गर्दै आएका छन्। तर उपलब्ध तथ्याङ्कले फरक चित्र देखाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपोर्टअनुसार पक्राउ परेकामध्ये करिब ४१ देखि ४६ प्रतिशत व्यक्तिहरूको कुनै आपराधिक रेकर्ड नभएको पाइएको छ। धरपकडको दायरा केवल आपराधिक पृष्ठभूमिमा सीमित नभएको घटनाहरूले देखाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com