क्यानेडाली पासपोर्टको ‘क्रेज’ : अमेरिकीहरू किन ह्वात्तै आकर्षित भए ?


प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार

क्यानडाको नागरिकतासम्बन्धी कानुनमा हालै गरिएको महत्वपूर्ण संशोधनपछि लाखौँ अमेरिकी नागरिकहरू क्यानेडाली पासपोर्टका लागि योग्य हुने भएका छन्। नयाँ व्यवस्था लागू भएसँगै अमेरिकाबाट क्यानडाको नागरिकताका लागि आवेदन दिनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको अधिकारीहरूले जनाएका छन्।

यसअघि लागू रहेको प्रावधानअनुसार क्यानाडाको नागरिकता आमाबाबुबाट सन्तानमा एक पुस्तासम्म मात्र हस्तान्तरण हुने व्यवस्था थियो। तर, गत डिसेम्बर १५ देखि लागू भएको नयाँ नियमले वंशजका आधारमा नागरिकता पाउने दायरालाई अझ फराकिलो बनाएको छ। अब हजुरबुबा-हजुरआमा वा अझ अघिल्लो पुस्तासम्म क्यानेडाली नागरिक रहेका व्यक्तिहरूका सन्तानले समेत नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिन पाउनेछन्।

यो परिवर्तनले विशेषगरी अमेरिकाका मिनेसोटा, म्यासाचुसेट्स र फ्लोरिडा लगायतका राज्यमा बसोबास गर्ने हजारौँ व्यक्तिमा उत्साह थपेको छ। ती क्षेत्रमा क्यानडासँग ऐतिहासिक तथा पारिवारिक सम्बन्ध भएका परिवारहरू उल्लेख्य संख्यामा रहेका छन्।

नागरिकता प्राप्तिको प्रक्रिया सहज बन्दै जाँदा अमेरिकास्थित अध्यागमन वकिलहरूलाई आवेदन व्यवस्थापन गर्न चाप बढेको छ। पछिल्लो समय अमेरिकाको राजनीतिक वातावरण, रोजगारीको अवसर र पारिवारिक जडसँग जोडिन चाहने प्रवृत्तिका कारण धेरै अमेरिकीहरू दोहोरो नागरिकताप्रति आकर्षित भएका छन्। कतिपयले भविष्यको सुरक्षालाई मध्यनजर गर्दै क्यानेडाली नागरिकतालाई ‘वैकल्पिक सुरक्षा’का रूपमा हेरेका छन् भने अन्यले अन्तर्राष्ट्रिय यात्रा सहज बनाउन क्यानेडाली पासपोर्ट रोजिरहेका छन्।

क्यानाडाको अध्यागमन विभागका अनुसार नागरिकताको प्रमाणपत्रका लागि आवेदन शुल्क ७५ क्यानेडाली डलर तोकिएको छ, जुन अन्य धेरै देशको तुलनामा सस्तो मानिन्छ। तर, वंशावली पुष्टि गर्न आवश्यक जन्मदर्ता, विवाह दर्ता वा अन्य ऐतिहासिक कागजात जुटाउने प्रक्रियामा भने थप खर्च लाग्न सक्ने बताइएको छ। यसका लागि धेरैले वकिल वा वंशावली विशेषज्ञको सहयोग लिइरहेका छन्।

हाल उपलब्ध विवरणअनुसार नागरिकताको प्रमाणपत्र प्राप्त गर्न करिब १० महिना लाग्ने अनुमान गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com