महँगो ‘न्युयोर्क सहर’ : बस्नै गाह्रो, बढ्दै छन् छोडेर जानेहरू
प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार
न्युयोर्क सहर । तस्वीर : अनस्प्लास
अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पछिल्लो समय जनसंख्या घट्ने क्रम तीव्र बनेको छ। सिटिजन्स बजेट कमिसनले हालै सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनअनुसार सहरमा बस्न आउनेभन्दा सहर छोडेर जानेको संख्या उल्लेख्य रूपमा बढेको छ।
प्रतिवेदनले सन् २०२५ मा न्युयोर्कको समग्र जनसंख्या घटेको देखाएको छ। विशेषगरी अन्तर्राष्ट्रिय आप्रवासन तथा अन्य राज्यबाट सहरमा सर्ने दर करिब ७० प्रतिशतले घटेपछि जनसंख्या सन्तुलनमा असर परेको उल्लेख गरिएको छ। यसले सहरको श्रम बजार, कर सङ्कलन तथा सेवा प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ।
अध्ययनअनुसार, सन् २०२५ मा मात्रै न्युयोर्कले अन्य अमेरिकी सहरहरूको तुलनामा करिब १ लाख १४ हजार बढी बासिन्दा गुमाएको छ। यो संख्या सन् २०२४ भन्दा उच्च भए पनि कोभिड- १९ महामारीका बेला देखिएको ठूलो पलायनको स्तरसम्म भने पुगेको छैन। विशेषगरी न्यून तथा मध्यम आय भएका वर्गमा सहर छोड्ने प्रवृत्ति तीव्र देखिएको छ। सन् २०२३/२०२४ को अवधिमा तल्लो ४० प्रतिशत आय भएका बासिन्दाहरूले बढ्दो महँगीका कारण न्युयोर्क छोडेको तथ्यांकले पुष्टि गरेको छ।
बढ्दो घरभाडा, कर वृद्धि र आधारभूत सेवाको महँगोपन मुख्य कारणका रूपमा औंल्याइएको छ। यसै सन्दर्भमा न्युयोर्कका मेयर जोहरान ममदानीको कार्यशैलीप्रति आलोचना चुलिएको छ। उनले सरकारी स्तरबाट सस्तो खाद्यान्न पसल सञ्चालन गर्ने तथा भाडा नियन्त्रण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा ढिलाइ भएको आरोप लागेको छ। घरजग्गा कर र विद्युत् महसुल वृद्धि हुँदा सर्वसाधारणको जीवनयापन थप कष्टकर बनेको स्थानीय बासिन्दाहरूको गुनासो छ।
यस्तै प्रवृत्ति अमेरिकाको अर्को प्रमुख सहर सान फ्रान्सिस्कोमा पनि देखिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा ठूलो लगानी र रोजगारीका अवसर भए पनि सहरको जनसंख्या अझै सन् २०२० को स्तरमा फर्कन सकेको छैन। अत्यधिक घरभाडा र घरबारविहीन (होमलेस) समस्याका कारण धेरै बासिन्दा अन्य सहरतर्फ सर्न बाध्य भएका छन्।





