जस्टिस डिपार्टमेन्ट र एफबीआईमा जनशक्ति संकट : नयाँ भर्तीको मापदण्ड खुकुलो, बढ्यो सुरक्षा चिन्ता 


प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार

अमेरिकाका प्रमुख सुरक्षा तथा कानुनी निकायहरू फेडेरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई) र अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस अहिले गम्भीर जनशक्ति अभावको संकटबाट गुज्रिरहेका छन्। पछिल्लो एक वर्षमा ठुलो सङ्ख्यामा अनुभवी कर्मचारीहरूले जागिर छाडेपछि रिक्त पदहरू पूर्ति गर्न प्रशासनले भर्ना प्रक्रिया उल्लेखनीय रूपमा सहज बनाएको छ।

तर, वर्षौँदेखि कायम कडा मापदण्डहरूलाई खुकुलो बनाउने यस कदमप्रति वर्तमान तथा पूर्व अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तो परिवर्तनले संस्थागत गुणस्तर र दीर्घकालीन क्षमता दुवैमा असर पार्न सक्छ।

एफबीआईका निर्देशक काश पटेलको नेतृत्वमा ब्युरोले सामाजिक सञ्जालमार्फत आक्रामक रूपमा नयाँ आवेदन आह्वान गरिरहेको छ। अन्य सङ्घीय निकायबाट आउने उम्मेदवारका लागि ४ महिनाको परम्परागत तालिम घटाएर ९ हप्तामा सीमित गरिएको छ। साथै, ब्युरोभित्रकै सहयोगी कर्मचारी एजेन्ट बन्न चाहेमा लिखित परीक्षा र अन्तर्वार्ता जस्ता अनिवार्य प्रक्रिया हटाइएको छ।

प्रशासनले यसलाई “प्रशासनिक झन्झट हटाउने प्रयास” भनेर व्याख्या गरे पनि आलोचकहरूले भने यसलाई गुणस्तरमा सम्झौता गर्ने कदमका रूपमा लिएका छन्।

यस्तै, अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसअन्तर्गत देशभर रहेका युएस अटर्नी कार्यालयहरूमा पनि जनशक्ति अभाव चर्किँदै गएको छ। हाल कानुन विद्यालयबाट भर्खरै स्नातक गरेका व्यक्तिहरूलाई सिधै प्रोसक्युटर नियुक्त गर्न थालिएको छ । यसअघि यस्तो पदका लागि कम्तीमा एक वर्षको कार्य अनुभव अनिवार्य थियो।

सरकारी तथ्याङ्कअनुसार करिब एक हजार सहायक युएस अटर्नीहरूले पद त्यागिसकेका छन् । राष्ट्रिय सुरक्षा तथा जासुसीसम्बन्धी विभागहरूमा ४० प्रतिशतसम्म कर्मचारी घटेका छन् । 

सुरक्षा तथा कानुनी क्षेत्रका विज्ञहरूका अनुसार संस्थाहरूमा बढ्दो राजनीतिकरण र प्रशासनप्रति असन्तुष्टि लगायतका कारणहरूले अनुभवी एजेन्ट र वकिलहरू धमाधम बाहिरिन थालेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com