इरानले ड्रोन हमला गर्न सक्ने सूचनापछि क्यालिफोर्नियामा सुरक्षा सतर्कता बढाइयो


प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार

अमेरिकाको क्यालिफोर्नियामा ड्रोन आक्रमणको अपुष्ट सूचना आएपछि सतर्कता बढाइएको छ। अमेरिकाका संघीय सुरक्षा निकायहरूले क्यालिफोर्निया राज्यका अधिकारीहरूलाई सम्भावित ड्रोन आक्रमणसम्बन्धी अपुष्ट जानकारी दिएपछि सतर्कता अपनाइएको हो।

गभर्नर ग्याभिन न्युसमले सूचना आएको भए तापनि “तत्काल खतरा” भने नरहेको स्पष्ट पारेका छन्।

संघीय अनुसन्धान ब्युरोले क्यालिफोर्नियाका स्थानीय सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई पठाएको मेमोमा इरानसँग सम्बन्धित समूहहरूले सम्भावित ड्रोन आक्रमण गर्न सक्ने अप्रमाणित जानकारी समावेश गरिएको बताइएको छ।

मेमो अनुसार, “सन् २०२६ को फेब्रुअरी सुरुतिरसम्म प्राप्त जानकारीअनुसार इरानले अमेरिकाको तटबाहिर रहेको कुनै अज्ञात जहाजबाट मानवविहीन हवाई साधन (ड्रोन) प्रयोग गरी आकस्मिक आक्रमण गर्ने योजना बनाएको हुन सक्ने आशङ्का गरिएको छ।”

मेमोमा यस्तो आक्रमण अमेरिकाले इरानमाथि कुनै सैन्य कारबाही गरेमा क्यालिफोर्नियामा रहेका अस्पष्ट लक्ष्यहरूलाई निशाना बनाउन सक्ने उल्लेख गरिएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार संघीय अनुसन्धानकर्ताहरूले कहिलेकाहीँ पूर्ण रूपमा पुष्टि नभएका सूचनासमेत सावधानीका लागि स्थानीय सुरक्षा निकायसँग साझा गर्ने गर्छन्।

अमेरिकी गुप्तचर समुदायले शत्रु राष्ट्र वा समूहहरूले सम्भावित रूपमा क्षति पुर्‍याउने उद्देश्य राखेका संकेतहरू नियमित रूपमा सङ्कलन गर्ने गर्दछ। गभर्नर न्युसमले हाल ड्रोनसम्बन्धी सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न कार्यसमूह गठन गरिएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत क्यालिफोर्नियाको सुरक्षासम्बन्धी विषयमा आफू सुरक्षा तथा गुप्तचर निकायहरूसँग निरन्तर समन्वयमा रहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com