इरानका अधिकांश सैन्य संरचना ध्वस्त बनाएको अमेरिकाको दाबी


प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार

राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : मार्क शिफेलबिन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका अधिकांश सैन्य संरचनाहरू “निष्क्रिय पारिएको” दाबी गरेका छन्। उनले हालैका आक्रमणहरूमा इरानी नेतृत्वलाई नै लक्षित गरिएको पनि बताएका छन्।

ट्रम्पले इरानमा गरिएको अमेरिकी सैन्य कारबाहीको प्रशंसा गर्दै इरानका “झन्डै सबै सैन्य संरचनाहरू ध्वस्त पारिएको” दाबी गरेका छन्।

ह्वाइट हाउसमा जर्मन चान्सलरसँगको भेटका क्रममा ट्रम्पले भने, “उनीहरूसँग अब नौसेना छैन, त्यो नष्ट भइसकेको छ। उनीहरूसँग वायुसेना छैन, त्यो पनि नष्ट भइसकेको छ। उनीहरूको हवाई निगरानी प्रणाली समाप्त भएको छ र रडार प्रणाली ध्वस्त पारिएको छ। वास्तवमा, उनीहरूको झन्डै सबै कुरा समाप्त पारिएको छ।”

ट्रम्पले थपे, “हामीले निकै राम्रो गरिरहेका छौँ। हाम्रो सेना उत्कृष्ट छ र उनीहरूले शानदार काम गरिरहेका छन्।”

यसैबीच, इजरायलले इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रियाको जिम्मेवारी सम्हाल्ने निकायसँग सम्बन्धित एक परिसरमा पनि आक्रमण गरेको इजरायली स्रोतले जनाएको छ। स्रोतका अनुसार, पवित्र सहर कोममा रहेको ‘एसेम्ली अफ एक्सपर्ट्स’ को परिसरमा आक्रमण गरिएको हो।

त्यतिबेला उक्त निकायका सदस्यहरू देशको आगामी सर्वोच्च नेता चयनका लागि मतदान गर्ने तयारीमा थिए। तर, इरानी सरकारी सञ्चारमाध्यमले भने आक्रमणअघि नै सो भवन खाली गराइएको दाबी गरेका छन्।

आक्रमणपछिका तस्बिरहरूमा उक्त परिसर पूर्ण रूपमा ध्वस्त भएको र सो क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिन्छ। ‘एसेम्ली अफ एक्सपर्ट्स’ ८८ जना वरिष्ठ धर्मगुरुहरू सम्मिलित यस्तो निकाय हो, जसलाई इरानका सर्वोच्च नेता चयन गर्ने संवैधानिक जिम्मेवारी छ। शनिबार हत्या गरिएका खामेनीका उत्तराधिकारी चयन गर्ने प्रक्रिया अघि बढाउने तयारीमा यो निकाय रहेको बताइएको छ।

अर्कोतर्फ, दुबईस्थित अमेरिकी वाणिज्य दूतावासको परिसरमा ड्रोन प्रहार भए पनि सबै कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ। अमेरिकाले हाल तीनवटा देशमा आफ्ना दूतावासहरू बन्द गरेको छ र आफ्ना नागरिकहरूलाई ती क्षेत्र छाड्न चेतावनी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले खाडी क्षेत्र हुँदै यात्रा गर्ने जहाजहरूका लागि अमेरिकी “बीमा र ग्यारेन्टी” को व्यवस्था गर्न निर्देशन दिएका छन्। आवश्यक परेमा अमेरिकी नौसेनाले ‘स्ट्रेट अफ होर्मुज’ हुँदै जाने तेल ट्याङ्करहरूलाई सुरक्षा प्रदान गर्ने संकेत पनि उनले दिएका छन्।

युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ताबीच अमेरिकामा पेट्रोलको मूल्य सन् २००५ यताकै उच्च वृद्धिदरमा पुगेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com