इरानका सर्वोच्च नेता खामेनीको मृत्युको पुष्टी, ४० दिने राष्ट्रिय शोक घोषणा


प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार

फोटो: Khamenei.ir मार्फत, CC BY 4.0

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले आधिकारिक रूपमा पुष्टि गरेका छन्। आइतबार बिहानै इरानी टेलिभिजनमार्फत खामेनीको मृत्युको खबर सार्वजनिक गरिएको हो।

अमेरिका र इजरायलले शनिबार इरानको राजधानी तेहरान र अन्य रणनीतिक स्थानहरूमा गरेको भीषण हवाई आक्रमणका क्रममा उनको ज्यान गएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सैन्य अभियानको पुष्टि गर्दै यो कारबाही हप्ताभरि जारी रहने र थप भारी बमबारी गरिने चेतावनी दिनुभएको छ।

राष्ट्रपति ट्रम्पले यो सैन्य अपरेसनको मुख्य उद्देश्य तेहरानको वर्तमान सत्तालाई विस्थापित गर्नु रहेको संकेत गर्नुभएको छ। उहाँले इरानी जनतालाई आफ्नो सरकार आफैँ सम्हाल्न आह्वान समेत गर्नुभएको छ।

यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार दक्षिण इरानको एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा ठुलो संख्यामा विद्यार्थीहरूको मृत्यु भएको छ। उक्त घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नागरिक सुरक्षाको विषयलाई लिएर चिन्ता बढाएको छ।

सर्वोच्च नेताको मृत्युपछि इरानले कडा बदला लिने भन्दै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविर र इजरायली क्षेत्रहरूमा ड्रोन तथा मिसाइल प्रहार गरेको छ। इरानको यो जवाफी हमलाले घना बस्ती भएका क्षेत्रहरूलाई त्रसित बनाएको छ भने यस क्षेत्रको हवाई उडान र तेल ढुवानीमा गम्भीर अवरोध सिर्जना गरेको छ। यद्यपि, अमेरिकी रक्षा मन्त्रालयले हालसम्म आफ्ना कुनै पनि सैनिकको मृत्यु नभएको दाबी गरेको छ।

इरान सरकारले आयतोल्लाह खामेनीको सम्मानमा ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। टेलिभिजनमा यो दुखद समाचार वाचन गर्ने क्रममा समाचार प्रस्तोता भावुक हुँदै रोएको दृश्यले इरानभित्रको गहिरो शोकलाई दर्शाउँछ।

संयुक्त अरब इमिरेट्स लगायतका क्षेत्रीय शक्तिहरूले यसलाई “ऐतिहासिक र भयावह क्षण” भन्दै विश्व नेताहरू मध्यपूर्वको स्थिरता कायम राख्न असफल भएको टिप्पणी गरेका छन्। अहिले पूरा विश्वको ध्यान इरानको आगामी नेतृत्व र सम्भावित ठुलो युद्धको खतरामा केन्द्रित भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com