अमेरिकालाई इयूले भन्यो – ‘करमा कुनै पनि वृद्धि स्वीकार हुँदैन, सम्झौता भनेको सम्झौता नै हो’
प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार
युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयन मार्च ५, २०२५ मा ब्रसेल्सस्थित इयूको मुख्यालयमा । तस्वीर : एएफपी/रासस
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका विश्वव्यापी भन्सार महसुलहरू खारेज गरेपछि उत्पन्न परिस्थितिका बीच युरोपेली संघ (इयू)ले अमेरिकासँग गत वर्ष सम्पन्न व्यापार सम्झौताको पूर्ण पालना गर्न माग गरेको छ।
युरोपेली संघले आइतबार विज्ञप्ति जारी गर्दै अदालतको निर्णयपछि अमेरिका कुन कदम चाल्नेछ भन्नेबारे “पूर्ण स्पष्टता” दिन आग्रह गरेको हो। आयोगले हालको अवस्था ‘न्यायोचित, सन्तुलित र पारस्परिक लाभदायक’ ट्रान्सअटलान्टिक व्यापार तथा लगानीका लागि अनुकूल नरहेको उल्लेख गरेको छ।
अदालतको निर्णयलगत्तै ट्रम्पले अस्थायी रूपमा सबै आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए। त्यसको एक दिनपछि उक्त दर बढाएर १५ प्रतिशत पुर्याइएको थियो। यस कदमले विश्व बजारमा अनिश्चितता बढाएको आयोगको दाबी छ।
गत वर्ष सम्पन्न इयू–अमेरिका व्यापार सम्झौताअनुसार अधिकांश युरोपेली वस्तुहरूमा १५ प्रतिशत अमेरिकी भन्सार दर कायम गरिएको थियो भने विमान र स्पेयर पार्ट्सजस्ता केही उत्पादनमा शून्य भन्सारको व्यवस्था गरिएको थियो। त्यसबेला इयूले पनि धेरै अमेरिकी वस्तुहरूमा आयात शुल्क हटाउने र उच्च महसुलमार्फत प्रतिशोध नलिने सहमति जनाएको थियो।
संघले स्पष्ट रूपमा भनेको छ, “सम्झौता भनेको सम्झौता नै हो।” साथै, इयूले पहिले सहमति गरिएको अधिकतम सीमा भन्दा माथि कुनै पनि भन्सार वृद्धि अस्वीकार्य हुने चेतावनी दिएको छ।
यसैबीच, इयूका व्यापार आयुक्त मारोस सेफ्कोभिचले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर र वाणिज्य सचिव होवार्ड लुटनिकसँग यस विषयमा छलफल गरेको जनाइएको छ। दुवै पक्षबीच संवाद जारी रहेको बताइएको छ।





