अमेरिकामा १०० बढी घर हुने लगानीकर्तालाई थप घर किन्न प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प प्रशासन 


प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले १०० भन्दा बढी एकल–परिवारमा आधारित घर स्वामित्वमा राख्ने लगानीकर्तालाई थप घर किन्न प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ।

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार ह्वाइट हाउसले संसदीय समिति प्रमुखहरूलाई पठाएको मेमोमा यस्तो प्रस्ताव उल्लेख गरिएको हो। प्रशासनले यो व्यवस्था हाल छलफलमा रहेको सेनेटको आवाससम्बन्धी विधेयकमा समावेश गराउन प्रयास गरिरहेको बताइएको छ।

ठूला लगानीकर्ताले ठूलो संख्यामा घर खरिद गर्दा सामान्य नागरिक तथा विशेषगरी पहिलोपटक घर किन्न खोज्ने परिवारहरू प्रतिस्पर्धामा कमजोर पर्ने ट्रम्प प्रशासनको तर्क छ । त्यसैले व्यक्तिगत घर–खरिदकर्तालाई प्राथमिकता दिन यो कदम चालिएको ट्रम्प प्रशासनले जनाएको छ ।

जनवरीमा राष्ट्रपति ट्रम्पले ठूला संस्थागत लगानीकर्ताको प्रभाव सीमित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। पछिल्लो प्रस्ताव त्यही नीतिको निरन्तरता मानिएको छ।

प्रस्तावमा केही अपवाद पनि राखिएको छ। भाडामा दिनकै लागि नयाँ घर निर्माण गर्ने वा पुराना घरहरूलाई व्यापक रूपमा मर्मत–सुधार (रिनोभेसन) गरेर बजारमा ल्याउने लगानीकर्तालाई भने प्रतिबन्धबाट छुट दिइन सक्ने उल्लेख छ।

यस वर्ष हुने संसदीय निर्वाचनअघि मतदाताहरूबीच बढ्दो महँगी र आवास किफायतीको मुद्दा चर्किँदै गएको छ। त्यसैले प्रशासनले मोर्टगेज–समर्थित प्रतिभूति खरिदजस्ता उपायमार्फत आवास बजार स्थिर र किफायती बनाउन विभिन्न कदम चालिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com