आइसको थुनुवा केन्द्रबाट एक महिनापछि १० वर्षीया बालिका र उनकी आमा रिहा
प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार
अमेरिकाको टेक्सासस्थित डिल्ली आप्रवासन थुनुवा केन्द्रमा एक महिनासम्म राखिएकी मिनेसोटाकी १० वर्षीया बालिका एलिजाबेथ जुना कैसागुआनो र उनकी आमा अन्ततः रिहा भएका छन्। स्कुल प्रशासनका अनुसार उनीहरू मंगलबार राति अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को नियन्त्रणबाट मुक्त भएका हुन्। आइसको डिल्ली आप्रवासन थुनुवा केन्द्रमा सयौँ बालबालिकालाई परिवारसहित थुनामा राखिएको छ।
एलिजाबेथ मिनियापोलिस नजिकको कोलम्बिया हाइट्स स्कुल डिष्ट्रिकमा चौथो कक्षामा अध्ययनरत विद्यार्थी हुन्। सोही क्षेत्रमा बस्ने पाँच वर्षका लियाम कोनेजो रामोसलाई पनि गत सप्ताहन्तमा व्यापक विरोधपछि सोही केन्द्रबाट रिहा गरिएको थियो।
स्कुल प्रशासनका अनुसार एलिजाबेथ र उनकी आमालाई गत जनवरी ६ मा संघीय एजेन्टहरूले पक्राउ गरेका थिए। ट्रम्प प्रशासनले क्षेत्रमा कडा आप्रवासन कारबाही सुरु गरेपछि कोलम्बिया हाइट्स डिष्ट्रिकका पाँच विद्यार्थीलाई आइसले नियन्त्रणमा लिएको थियो। इक्वेडर मूलका उक्त परिवारको आश्रयसम्बन्धी मुद्दा हाल प्रक्रियामै रहेको स्कुल स्रोतले जनाएको छ।
परिवारका वकिलका अनुसार रिहापछि एलिजाबेथ र उनकी आमा टेक्सासको एक आश्रयस्थलमा बसेका थिए । उनीहरु मिनेसोटा फर्केर बाबुसँग पुनर्मिलन गर्ने तयारीमा छन्।
यस घटनाबीच एलिजाबेथको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ। संघीय अधिकारीहरूले डिल्ली केन्द्रमा दादुरा रोगको प्रकोप फैलिएको पुष्टि गरेका छन्। स्कुलकी चिफ सेक्रेटरी क्यारोलिना गुटिएरेजका अनुसार एलिजाबेथमा रुघाखोकीजस्ता लक्षण देखिएको छ भने उनकी आमाको शरीरमा एलर्जी देखिएको छ। तर, उनीहरूले औपचारिक स्वास्थ्य परीक्षण भने अझै पाएका छैनन्।
गुटिएरेजले एलिजाबेथ स्कुल फर्किन लागेको खबरले आफू अत्यन्त खुसी र राहत महसुस गरेको बताइन्। उनले अन्य प्रभावित परिवारका लागि पनि आवाज उठाइरहनुपर्ने आवश्यकता औँल्याइन्।
स्कुल प्रशासनका अनुसार एलिजाबेथ र उनकी आमालाई विद्यालय जाने क्रममा एजेन्टहरूले पक्राउ गरेका थिए। पक्राउका बेला एलिजाबेथले बाबुलाई फोन गरेर अनुवादकको भूमिका निभाउँदै आफूलाई विद्यालय पुर्याइने बताएकी थिइन्। तर उनका बाबु विद्यालय पुगेर घण्टौँ कुर्दा पनि एलिजाबेथ नआएको र सोही दिन उनीहरूलाई टेक्सास लगिएको खुलेको छ।
स्कुलकी सामाजिक कार्यकर्ता ट्रेसी सियोङका अनुसार परिवार पक्राउ परेपछि एलिजाबेथका बाबु अत्यन्त भावुक बनेका थिए। उनले बाबुलाई कारभित्र बसेर रोइरहेको दृश्य आफूले कहिल्यै नबिर्सने बताइन्।
गुटिएरेजका अनुसार पक्राउ पर्दा एलिजाबेथ आफूलाई इक्वेडर फर्काइँदैछ भन्ने सोचमा थिइन्। उनी भविष्यमा डाक्टर बन्ने सपना देख्छिन् र बाबुसँग घर फर्किन तथा विद्यालय जान पाउन बिन्ती गरेकी थिइन्।
एलिजाबेथको मुद्दा अमेरिकी न्यायाधीश फ्रेड बियरीलाई तोकिएको थियो। उनले यसअघि लियामलाई रिहा गर्न आदेश दिएका थिए। न्यायाधीश बियरीले सरकारको दैनिक निर्वासन लक्ष्य पूरा गर्ने नीतिले बालबालिकालाई मानसिक रूपमा पीडा पुर्याउने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन्।






