अमेरिकामा घरकर्जाको ब्याजदर परिमार्जन हुँदै: लाखौँ घरधनीको मासिक मोर्गेज किस्ता बढ्ने सङ्केत


प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार

Photo: Kurt Hänel/ Unsplash

हजारौँ घरधनीहरू जसले परिमार्जन हुने ब्याजदरमा घरकर्जा लिएका छन्, उनीहरूले शीघ्र नै ब्याजदर वृद्धि र मासिक किस्तामा ठूलो उछालको सामना गर्नुपर्ने हुनसक्छ।

मोर्गेज डाटा तथा प्रविधि कम्पनी आइस मोर्गेज टेक्नोलोजीका अनुसार, यस वर्ष करिब १ लाख ५० हजार ऋणदाताहरूको ब्याजदर पहिलोपटक परिमार्जन हुँदैछ। त्यस्तै, सन् २०२७ मा १ लाख ८६ हजार र सन् २०२८ मा १ लाख ५५ हजार ऋणीहरूले पहिलो समायोजनको सामना गर्नेछन्। यस वर्ष समायोजन हुने कुल सङ्ख्यामध्ये करिब ६४ हजार ऋणको ब्याजदर अगस्टदेखि डिसेम्बरको बीचमा परिमार्जन हुने तालिका छ।

ऋणीहरूले कर्जा लिएको समयको तुलनामा हाल ब्याजदर उल्लेख्य रूपमा बढेकाले उनीहरूको मासिक किस्ता सयौँ डलरदेखि केही अवस्थामा $१,००० भन्दा बढीले वृद्धि हुनसक्छ। अर्कोतर्फ, थोरै प्रतिशत ऋणीहरूको भने ब्याजदर र मासिक किस्ता घट्न पनि सक्छ।

स्थिर ब्याजदरको विपरीत, परिमार्जन हुने कर्जाको ब्याजदर समयअनुसार परिवर्तन भइरहन्छ। सामान्यतया यस्ता कर्जाको सुरुवातमा आकर्षक वा न्यून ब्याजदर निर्धारण गरिएको हुन्छ। तर, निश्चित प्रारम्भिक अवधि समाप्त भएपछि ब्याजदर परिमार्जन हुन थाल्छ। यो समायोजन हरेक ६ महिना वा १ वर्षमा हुने गर्छ, जसले घरधनीको मासिक भुक्तानी बढाउन वा घटाउन सक्छ।

अर्बन इन्स्टिच्युटकी सदस्य लरी गुडम्यान भन्छिन्: “जब तपाईंले परिमार्जन हुने ब्याजदरमा कर्जा लिनुभयो, भविष्यमा ब्याजदर बढ्दा प्रतिकूल असर पर्न सक्ने जोखिम मोलेरै सुरुमा केही सस्तो ब्याजदर पाउनुभएको थियो। दुर्भाग्यवश, अहिले त्यही प्रतिकूल अवस्था आइपरेको छ।”

आइस मोर्गेज टेक्नोलोजीको तथ्याङ्क अनुसार, अमेरिकामा हाल ३१ लाख एआरएम कर्जा सक्रिय छन्, जुन पछिल्लो ५.५ वर्षयताकै उच्च हो। यीमध्ये २० लाख ५० हजार कर्जा अझै प्रारम्भिक स्थिर अवधिमै छन् भने १० लाख ५० हजार कर्जा परिमार्जन हुने चरणमा प्रवेश गरिसकेका छन्।

अहिले अमेरिकामा रहेका कूल ५ करोड ५४ लाख सक्रिय घरकर्जामध्ये एआरएमको हिस्सा ५.६% मात्र रहेको छ।

ब्याजदर कतिले परिमार्जन हुन्छ भन्ने कुरा ऋणको सुरुवाती दर र तोकिएको माथिल्लो सीमामा निर्भर हुन्छ। उदाहरणका लागि, कुनै कर्जामा पहिलो समायोजनमा बढीमा २ प्रतिशत विन्दु, त्यसपछिका समायोजनमा १ प्रतिशत विन्दु र कर्जाको सम्पूर्ण अवधिभर बढीमा ५ प्रतिशत विन्दुसम्म मात्र ब्याजदर बढ्न वा घट्न पाउने नियम हुनसक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१९ मा सुरु भई यस वर्ष पहिलोपटक परिमार्जन हुन लागेका ७ वर्षे एआरएमको मध्यक सुरुवाती ब्याजदर ३% र बाँकी कर्जा रकम $५,४८,००० छ। वर्तमान बजार दरका आधारमा उनीहरूको परिमार्जित ब्याजदर औसत ६.०६% पुग्नेछ, जसले गर्दा उनीहरूको मासिक किस्ता मध्यक $१,०८० ले बढ्नेछ।

सन् २०२३ मा ८.३८% को उच्च दरमा लिइएका ३ वर्षे कर्जाको ब्याजदर भने घटेर ७.७१% मा झर्नेछ, जसले मासिक किस्ता $१२४ ले घटाउनेछ।

उपभोक्ता वित्तीय सुरक्षा ब्युरोका अनुसार, नयाँ किस्ता भुक्तानी गर्नुभन्दा २१० देखि २४० दिन अघि नै ऋणदाताले ऋणीलाई ब्याजदर परिवर्तनबारे पूर्वसूचना दिनुपर्छ। त्यसपछि वास्तविक नयाँ दर र किस्ता रकमसहितको अन्तिम सूचना ६० देखि १२० दिनअघि पठाइन्छ।

मासिक किस्ता बढ्दा आर्थिक दबाबमा पर्ने घरधनीहरूसँग मुख्यतया दुईवटा विकल्प रहन्छन्,यदि घरधनीको आम्दानी, पदोन्नति वा तलब वृद्धिले बढेको किस्ता धान्न सक्छ भने एआरएम कर्जामै रहनु एउटा विकल्प हो।

यदि बढेको ब्याजदरले बजेट बिग्रिने डर छ भने, निश्चित ब्याजदर भएको नयाँ कर्जामा रिफाइनान्स गर्न सकिन्छ।

रिफाइनान्स गर्दा नयाँ कर्जा आवेदन दिनुपर्ने भएकाले कुल कर्जा रकमको २% देखि ५% सम्म समापन खर्च लाग्छ। उदाहरणका लागि, $३,०००,००० को कर्जामा $६,००० देखि $१५,००० सम्म अतिरिक्त खर्च हुनसक्छ। साथै, राम्रो ब्याजदर पाउन क्रेडिट स्कोर पनि उत्कृष्ट हुनुपर्छ।

किस्ता तिर्न समस्या हुने शङ्का लागेमा घरधनीहरूले हाउसिङ एन्ड अर्बन डेभलपमेन्टका काउन्सिलरसँग परामर्श लिन वा बैंकसँग कर्जा पुनसंरचनाको लागि छलफल गर्न सक्नेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com