सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घन गरेको अभियोगमा बैंक अफ अमेरिकालाई १.२ अर्ब डलर जरिवाना
प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार
Photo: Miles Smith/ Unsplash
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले सम्पत्ति शुद्धीकरण र प्रतिबन्ध सम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा अमेरिकाको दोस्रो ठूलो बैंक ‘बैंक अफ अमेरिका’ लाई १.२ अर्ब अमेरिकी डलरभन्दा बढी जरिवाना गराएको छ।
ट्रेजरी डिपार्टमेन्टका अनुसार बैंकले चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जाल र दक्षिण-पश्चिमी सीमा क्षेत्रमा हुने अवैध वित्तीय गतिविधि जस्ता प्राथमिकता प्राप्त राष्ट्रिय सुरक्षा जोखिमहरू नियन्त्रण गर्न र सोको प्रतिवेदन बुझाउन असफल भएको छ।
अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले भने, “यति ठूलो बैंकले सम्पत्ति शुद्धीकरण र प्रतिबन्ध सम्बन्धी नियम पालन नगर्दा त्यसको असर बैंकसम्म मात्र सीमित नरही सम्पूर्ण अमेरिकी वित्तीय प्रणालीलाई नै जोखिममा पार्छ।” उनले अगाडि थपे, “आजको कारबाहीले जतिसुकै ठूला वित्तीय संस्था पनि कानूनभन्दा माथि छैनन् भन्ने स्पष्ट सन्देश दिएको छ।”
बैंक अफ अमेरिकाका प्रवक्ताले नियामक निकायहरूसँग मिलेर समस्या समाधानका लागि काम भइरहेको बताएका छन्। उनले भने, “हामीले वित्तीय अपराध नियन्त्रणका लागि प्रविधिमा अर्बौँ डलर लगानी गरेका छौँ र हजारौँ कर्मचारी परिचालन गरेका छौँ। नियामकहरूले उठाएका विषयहरू समाधान गर्न आवश्यक कार्य तीव्र गतिमा अघि बढिरहेको छ।”
बैंकले यो जरिवानाका कारण तेस्रो त्रैमासिकको नाफामा असर पर्ने जनाएको छ। जरिवानाको १.२ अर्ब डलर फिर्ता नहुने रकम भएकाले प्रतिशेयर आम्दानीमा करिब १७ सेन्टको कटौती हुने बैंकले स्पष्ट पारेको छ।
यो जरिवाना अमेरिकी ट्रेजरी डिपार्टमेन्टको ‘फिनसेन’ले गराएको तेस्रो ठूलो जरिवाना हो। यसअघि सन् २०२३ मा बाइनान्सलाई ३.४ अर्ब डलर र सन् २०२४ मा टीडी बैंकलाई १.३ अर्ब डलर जरिवाना गराइएको थियो।
सम्झौताका क्रममा बैंक अफ अमेरिकाले आफूसँग पर्याप्त सुरक्षात्मक उपाय नभएको र शंकास्पद गतिविधिबारे समयमै जानकारी नदिएको स्वीकार गरेको छ।
गत वर्ष ९ खर्ब डलरभन्दा बढीको कारोबार प्रक्रिया गरेको यस बैंकले ५ अर्ब डलरभन्दा बढीको शंकास्पद कारोबारको विवरण बुझाउन सकेको थिएन।
ट्रेजरी डिपार्टमेन्टका अनुसार बैंकको प्रतिबन्ध-स्क्रिनिङ फिल्टरमा प्राविधिक त्रुटि थियो। यसले गर्दा ट्रेजरी को प्रतिबन्ध सूचीमा रहेका व्यक्तिहरूको नाम र जन्ममितिसँग मिलेका कारोबारहरूलाई पनि प्रणालीले उच्च प्राथमिकतामा राख्न सकेको थिएन।
कूल जरिवाना रकममध्ये ७५ करोड डलर नागरिक जरिवानाका रूपमा ‘अफिस अफ द कम्पट्रोलर अफ द करेन्सी’मा जानेछ, जुन ओसीसीको इतिहासकै सबैभन्दा ठूलो जरिवाना हो।
यो खबर सार्वजनिक भएसँगै सेयर बजार बन्द भएपछिको कारोबारमा बैंक अफ अमेरिकाको सेयर २.५ प्रतिशतभन्दा बढीले घटेको छ।





