अध्यागमन एजेन्सीहरू सुधारका लागि अमेरिकामा नयाँ विधेयक: डीएचएस, आइस र सीबीपी खारेज गर्ने प्रस्ताव
प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार
फोटो : एपी/रासस
अमेरिकी सांसद् डेलिया रामिरेजले अमेरिकाका अध्यागमन एजेन्सीहरूमा व्यापक सुधार गर्ने उद्देश्यका साथ मङ्गलबार एक विधेयक दर्ता गराएकी छन्। “रिइमाझिनिङ सेफ्टी एक्ट”नाम दिइएको उक्त विधेयकले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीलाई विघटन गरी त्यसको ठाउँमा “समुदाय-केन्द्रित” नयाँ डिपार्टमेन्ट स्थापना गर्ने प्रस्ताव गरेको छ।
यस विधेयकले आइस र सीमा सुरक्षा बल लाई पूर्ण रूपमा खारेज गर्ने लक्ष्य राखेको छ। यद्यपि, विधेयकले होमल्यान्ड सेक्युरिटी अन्तर्गत रहेका अध्यागमनबाहेकका अन्य निकायहरू-जस्तै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सी र यातायात सुरक्षा प्रशासनका कार्यहरूलाई भने निरन्तरता दिनेछ।
विधेयक दर्ता गर्दै प्रतिनिधि रामिरेजले भनिन्, “हिरासतमा ज्यान गुमाएका प्रत्येक व्यक्ति, आइस र सीबीपीको गोलीबाट मारिएका नागरिक, तेस्रो मुलुकमा देश निकाला गरिएका छिमेकीहरू र छिन्नभिन्न पारिएका परिवारहरू नै डिएचएसलाई विघटन गरी नयाँ संरचना खडा गर्नुपर्ने मुख्य कारण हुन्।”
प्रतिनिधिसभाको गृह सुरक्षा समितिकी सदस्य तथा आइसकी प्रखर आलोचक रामिरेजले यसअघि पनि पटक-पटक आइस र डिएचएस खारेज गर्न माग गर्दै आएकी थिइन्। गत जनवरीमा मिनेपोलिसमा अध्यागमन कारबाहीका क्रममा सङ्घीय एजेन्टहरूको गोली लागेर दुई जना अमेरिकी नागरिकको मृत्यु भएपछि उनले विरोध प्रदर्शनको नेतृत्व गरेकी थिइन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन एजेन्डाप्रति सर्वसाधारणको समर्थन घट्दै गएको देखिएको छ। सन् २०२४ को चुनावी अभियानमा मुख्य मुद्दा बनेको यस विषयमा अक्टोबर १ मा सार्वजनिक भएको एपी-एनओआरसीको सर्वेक्षणअनुसार ३९ प्रतिशत अमेरिकीहरूले मात्र राष्ट्रपतिको अध्यागमन नीतिको समर्थन गरेका छन्।
ट्रम्पका समर्थकहरूले गैरकानुनी अध्यागमन रोक्न उनले सफलता हासिल गरे पनि मतदाताहरूले त्यसको उचित मूल्याङ्कन नगरेको दाबी गरेका छन्। अर्कोतर्फ, आलोचकहरूले भने कानुनी र गैरकानुनी दुवै प्रकारका आप्रवासीहरूविरुद्ध कडा नीति अपनाउँदा मतदाताहरू टाढिएको तर्क गरेका छन्।
केही डेमोक्र्याट नेताहरूले आइस खारेज गर्ने मागबाट आफूलाई टाढा राख्दै आए तापनि मिनेपोलिसको घटनापछि यो मुद्दाले पुनः प्राथमिकता पाएको छ। जनवरीमा गरिएको ‘इकोनोमिस्ट/युगोभ’को सर्वेक्षण अनुसार ४६ प्रतिशत अमेरिकीहरू आइस खारेज गर्ने पक्षमा र ४३ प्रतिशत विपक्षमा देखिएका थिए।





