अमेरिकामा चर्चित समाचार प्रस्तोताकी आमा अपहरणमा : छोरीको भावुक भिडियो सन्देश, ट्रम्पद्वारा चासो


प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार

अमेरिकाकी चर्चित समाचार एङ्कर साभाना गुथ्रीले आफ्नी अपहरणमा परेकी आमाको सुरक्षित फिर्तीका लागि वार्ता गर्न तयार रहेको बताएकी छन्। उनले एक भावुक भिडियो सन्देश सार्वजनिक गर्दै अपहरणकर्तासँग आफ्नी ८४ वर्षीया आमा न्यान्सी गुथ्री जीवितै रहेको प्रमाण दिन आग्रह गरेकी हुन्।

भिडियोमा साभाना आफ्नी दिदी एनी र भाइ क्यामरनसँग देखिएकी छिन्। उनले भनिन्, “हामी तपाईंको कुरा सुन्न तयार छौँ। कृपया हामीसँग सम्पर्क गर्नुहोस्।”

न्यान्सी गुथ्री गत साता एरिजोना राज्यस्थित आफ्नै घरबाट रातको समयमा बेपत्ता भएकी थिइन्। अधिकारीहरूका अनुसार न्यान्सीलाई अपहरण गरिएको आशङ्का गरिएको छ। प्राप्त फिरौती नोटको प्रमाणीकरणका लागि एफबीआई सँग सहकार्य भइरहेको अधिकारीहरूले बताएका छन्।

भिडियोमा साभानाले अगाडि भनेकी छन्: “हामी कुरा गर्न तयार छौँ। तर हामी यस्तो समयमा छौँ जहाँ आवाज र तस्बिर सजिलै हेरफेर गर्न सकिन्छ। त्यसैले, हामीलाई कुनै शङ्का नरहने गरी उहाँ जीवित हुनुहुन्छ र तपाईंहरूसँगै हुनुहुन्छ भन्ने ठोस प्रमाण चाहिएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पिमा काउन्टी शेरिफ कार्यालयले न्यान्सी गुथ्रीसँग गत साता सम्पर्कमा रहेका सबै व्यक्तिसँग सोधपुछ गरिरहेको छ। यद्यपि, हालसम्म कुनै शङ्कास्पद व्यक्ति पहिचान हुन सकेको छैन। अधिकारीहरूले न्यान्सीले नियमित औषधि नपाएमा उनको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्ने चेतावनी दिएका छन्।

भिडियो सार्वजनिक भएको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत घटनाप्रति प्रतिक्रिया जनाएका छन्। उनले अनुसन्धान छिटो टुङ्ग्याउन र न्यान्सीलाई सुरक्षित घर फर्काउन सबै संघीय कानुन कार्यान्वयन निकायलाई निर्देशन दिएको बताएका छन्।

“मैले साभाना गुथ्रीसँग कुरा गरेको छु। उनको परिवार र स्थानीय प्रहरीलाई तुरुन्तै सहयोग गर्न सबै संघीय निकायलाई निर्देशन दिइएको छ,” ट्रम्पले लेखेका छन्, “पूरा राष्ट्र यो परिवारका लागि प्रार्थना गरिरहेको छ।”

पिमा काउन्टीका शेरिफ क्रिस नानोसका अनुसार तालिमप्राप्त कुकुर, ड्रोन, हेलिकप्टर र संघीय एजेन्टसहितको टोलीले व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ।

न्यान्सी गुथ्री अन्तिम पटक शनिबार साँझ क्याटालिना फुथहिल्सस्थित आफ्नै घरमा देखिएकी थिइन्। उक्त क्षेत्र टुसन सहरभन्दा करिब १० किलोमिटर उत्तर-पूर्वमा पर्ने एक सम्पन्न बस्ती हो।

साभाना गुथ्री अमेरिकी सञ्चार जगतकी प्रभावशाली व्यक्तित्व हुन्। सन् २००७ मा एनबीसीमा आबद्ध भएकी साभाना सन् २०१२ देखि ‘टुडे’ शोकी सह-एङ्कर हुन्। उनी एनबीसी न्युजकी प्रमुख कानुनी संवाददातासमेत हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com