साढे दुई वर्षपछि गाजामा पुग्यो शैक्षिक सामग्री, क्षतिग्रस्त छन् ९७ प्रतिशत विद्यालय


प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार

दक्षिणी गाजा पट्टीको खान युनिसमा विस्थापित मानिसहरूका लागि बनाइएको अस्थायी शिविरको पाल नजिकै बसिरहेका प्यालेस्टिनी बालबालिका । तस्वीर : अब्देल करीम हाना/एपी-रासस

संयुक्त राष्ट्रसंघको बाल एजेन्सी युनिसेफले साढे दुई वर्षपछि पहिलो पटक गाजा पट्टीमा शैक्षिक सामग्रीसहितका विद्यालय किटहरू पुर्‍याउन सफल भएको जनाएको छ। यसअघि इजरायली अधिकारीहरूले यस्ता सामग्रीको प्रवेशमा रोक लगाएका थिए।

युनिसेफका अनुसार पेन्सिल, कापी तथा बालबालिकाले खेल्न प्रयोग गर्ने काठका घन (क्युब) समावेश भएका हजारौँ किटहरू हाल गाजामा प्रवेश गरिसकेका छन्।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने, “पछिल्ला केही दिनमा हामीले हजारौँ मनोरञ्जनात्मक किट र सयौँ ‘स्कुल(इन(ए(कार्टन’ किटहरू भित्र्याएका छौँ। स्वीकृति प्राप्त भइसकेकाले आगामी हप्ता थप २,५०० विद्यालय किट गाजामा पुर्‍याउने तयारी भइरहेको छ।”

गाजा पट्टीमा सहायता सामग्रीको आवागमनको निगरानी गर्ने इजरायली सेनाको निकाय कोगाटका प्रवक्ताले युनिसेफलाई पाठ्यपुस्तक बाहेकका शैक्षिक सामग्री भित्र्याउन हालै अनुमति दिइएको पुष्टि गरेका छन्। कोगाटका प्रवक्ताले युद्धका क्रममा केही पटक शैक्षिक किटहरू प्रवेश गर्न दिइएको भए पनि कति पटक भन्ने विषयमा स्पष्ट विवरण नदिएको रोयटर्सले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनिसेफका अनुसार गाजाका बालबालिकाले शिक्षा प्रणालीमाथि अभूतपूर्व संकटको सामना गर्नुपरेको छ। कापी र पेन्सिलजस्ता आधारभूत शैक्षिक सामग्रीको प्रवेशमा प्रतिबन्ध लाग्दा शिक्षकहरू सीमित साधनमै पढाउन बाध्य भएका थिए। धेरै बालबालिकाले बत्तीसमेत नभएका पालभित्र रातिको समयमा अध्ययन गर्नुपर्ने अवस्था भोगेका थिए।

द्वन्द्वका क्रममा केही बालबालिका पूर्ण रूपमा शिक्षाबाट वञ्चित भएका छन्। पानीजस्ता आधारभूत आवश्यकतासमेत अभाव हुनुले उनीहरू झन् कठिन परिस्थितिमा परेका छन्। व्यापक कुपोषणसहित गाजा ठूलो मानवीय संकटको चपेटामा परेको युनिसेफले जनाएको छ।

“बालबालिका र युनिसेफजस्ता संस्थाहरूका लागि आवश्यक सामग्रीबिना शिक्षा सञ्चालन गर्ने प्रयास गर्दै बितेका दुई वर्ष अत्यन्तै कठिन रहे,” एल्डरले भने, “अब भने वास्तविक परिवर्तन देखिन थालेको संकेत देखिन्छ।”

युनिसेफले विद्यालय जाने उमेरका करिब आधा बालबालिका (करिब ३ लाख ३६ हजार)लाई शैक्षिक सहयोग पुर्‍याउने लक्ष्यसहित आफ्नो शिक्षा कार्यक्रम विस्तार गरिरहेको छ। विद्यालय भवनहरू व्यापक रूपमा ध्वस्त भएकाले अधिकांश शिक्षण गतिविधि पालहरूमा सञ्चालन गरिने एल्डरले जानकारी दिए।

यो युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो। संयुक्त राष्ट्रसंघले जुलाईमा गरेको पछिल्लो उपग्रह मूल्यांकनअनुसार गाजाका कम्तीमा ९७ प्रतिशत विद्यालयहरू कुनै न कुनै स्तरमा क्षतिग्रस्त भएका छन्।

इजरायलले हमास र अन्य सशस्त्र समूहहरूले विद्यालयसहित नागरिक संरचनाभित्र लुकेर गतिविधि गर्ने तथा नागरिकलाई मानव ढालका रूपमा प्रयोग गर्ने आरोप लगाउँदै आएको छ।

युनिसेफको सहयोगमा सञ्चालन हुने अधिकांश सिकाइ केन्द्रहरू गाजाको मध्य र दक्षिणी क्षेत्रमा रहने जनाइएको छ। उत्तर गाजामा अझै काम गर्न कठिन रहेको एल्डरले बताए, किनकि द्वन्द्वका अन्तिम महिनाहरूमा त्यहाँका धेरै क्षेत्र अत्यन्तै ध्वस्त भएका थिए।

इजरायली तथ्यांकअनुसार अक्टोबर २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलको आक्रमणबाट हालसम्म ७१,००० प्यालेस्टिनीको मृत्यु भएको छ। युनिसेफले आधिकारिक तथ्यांक उद्धृत गर्दै २०,००० भन्दा बढी बालबालिका मारिएको जनाएको छ, जसमा गत वर्ष अक्टोबर १० मा भएको युद्धविरामपछि मात्रै ११० बालबालिकाको मृत्यु भएको उल्लेख छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com