गाजा र इजिप्टबीचको रफाह नाका केही दिनभित्र पुन: खोल्ने इजरायलको निर्णय
प्रकाशित मिति : माघ १२, २०८२ सोमबार
गाजा पट्टी र इजिप्टबीचको रफाह नाका । फाइल तस्वीर । स्रोत : विकिपिडिया
इजरायलले गाजा पट्टी र इजिप्टबीचको सीमा नाका ‘रफाह नाका’ केही दिनभित्र पैदल यात्रुहरूका लागि पुनः खोल्ने निर्णय गरेको छ। यो कदमले दुई वर्ष लामो युद्धको समयमा गाजाबाट भागेका प्यालेस्टिनीहरूलाई पहिलो पटक आफ्नै घर फर्कने मौका दिन सक्छ।
नाका पुनः खोलिँदा गाजामा उपचारको आवश्यकता पर्ने र विदेशमा उपचार गराउनुपर्ने लगभग १८ हजारभन्दा बढी मानिसहरूलाई पनि निकाल्न सकिने आशा गरिएको छ।
सोमबार बिहान इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजाबाट अझै फिर्ता नआएको अन्तिम बन्दीको अवशेष खोजी पूरा भएपछि रफाह नाका खोलिने बताएका थिए ।
पछि इजरायली सेनाले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणमा गोली लागेर मृत्यु भएका प्रहरी अधिकारी मास्टर सर्जेन्ट रान ग्भिलीको अवशेष फेला परेको जनाएको छ। यससँगै हमासले गाजामा रहेका मृत इजरायली र विदेशी नागरिकहरूको अवशेष फिर्ता गर्ने शर्त पूरा भएको छ।
इजरायल र हामासबीचको युद्धविराम सम्झौताअनुसार रफाह नाका पुनः खोल्ने सहमति भएको थियो। तर, इजरायलले पहिले सबै मृतहरूको अवशेष फिर्ता हुनुपर्ने माग राखेको थियो। ग्भिलीको अवशेष फेला परेकोले यो शर्त पूरा भएको हो।
यस निर्णयले युद्धविरामलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनामा रहेको हमासलाई निरस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा फोर्स परिचालन जस्ता कदमहरू अझै अनिश्चित अवस्थामा छन्।
प्यालेस्टिनी अधिकारीहरूको विवरणअनुसार, युद्ध सुरु भएयता १ लाखभन्दा बढी मानिसहरू गाजाबाट बाहिरिएका छन्। धेरै मानिसहरूले अब गाजामा फर्किने कि नफर्किने निर्णय गर्नुपर्ने अवस्था छ, किनकि गाजाको अधिकांश भाग युद्धका कारण ध्वस्त भएको छ।
इजरायली सरकारले अझै पनि विदेशी पत्रकारहरूलाई गाजामा प्रवेश गर्न अनुमति दिएको छैन। सोमबार सर्वोच्च अदालतको सुनुवाइमा इजरायली सरकारले पत्रकारहरूलाई प्रवेश दिए इजरायली सैनिकहरूको सुरक्षा जोखिममा पर्न सक्ने दाबी गरेको थियो ।
विदेशी पत्रकारहरूलाई गाजामा रिपोर्टिङ गर्न अनुमति दिन खोज्ने लामो समयदेखि रहेको निवेदनमा सोमबार अदालतले विचार गरेको थियो । न्यायाधीश रुथ रोननेनले रफाह नाकाबाट पत्रकारहरूलाई इजिप्टमार्फत प्रवेश गर्न सक्ने सम्भावना देखाइन् । तर, विदेशी प्रेस एसोसिएसनले पत्रकारहरूले इजरायलबाट पनि प्रवेश पाउनुपर्ने दाबी गरेको छ।
अहिलेसम्म सर्वोच्च अदालतले निर्णय कहिले सुनाउनेछ भन्ने स्पष्ट भएको छैन।
राफाह नाका दक्षिणी शहर रफाह नजिकै रहेको थियो, जुन युद्धका क्रममा इजरायली सेनाले ठूलो मात्रामा ध्वस्त पारेको थियो। युद्धका पहिलो नौ महिनामा हजारौं प्यालेस्टिनीहरू यस नाकाबाट इजिप्टतर्फ भाग्न सफल भएका थिए।
तर, मे २०२४ मा इजरायली सेनाले सीमा नजिकै नाका कब्जा गरेपछि यो मार्ग बन्द भएको थियो । इजरायल र इजिप्टले सीमा पुनः खोल्ने सर्तहरूमा सहमति गर्न नसक्दा नाका लामो समयदेखि बन्द नै रहेको छ।






