राष्ट्रपति उम्मेदवार हिलारीलाई निमोनिया !


प्रकाशित मिति : भाद्र २७, २०७३ सोमबार

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि चुनावी प्रचार अभियान केही दिनका लागि रद्द गरिएको छ । क्लिन्टनका निजी चिकित्सकका अनुसार केही समयका लागि आराम गर्नुपर्ने भएकाले चुनावी प्रचार अभियान रोकिएको हो ।

सेप्टेम्बर ११ को स्मृति सभामा उनी बिरामी परेको हाल उनको निमोनियाको उपचार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । डा. लिजा बार्डाकका अनुसार शुक्रबार उनलाई निमोनिया भएको पत्ता लागेको र एन्टिबायोटिक चलाइएको थियो । तर, न्युयोर्कमा भएको समारोहमा उनको स्थिति बिग्रगिएको थियो ।

डाक्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार’ भएको बताएका छन् । तर, उनी बिरामी भएपछि क्यालिफोर्नियामा हुने भनिएको कार्यक्रम रद्द गरिएको छ । उनी सोमबार बिहान दुई दिनका लागि क्यालिफोर्निया जाने कार्यक्रम थियो ।  ‘हिलारी क्लिनटनलाई खोकीसम्बन्धित एलर्जी भइरहेको छ । खोकी लामो समय लागिरहेपछि शुक्रबार जाँच गर्दा उनलाई निमोनिया भएको पत्ता लागेको थियो,’ डाक्टरको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो उमेर हिलारी क्लिन्टनको भन्दा दुई वर्ष मात्रै बढी भए पनि आफू पूर्णरुपमा स्वस्थ रहेको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति बन्नका लागि मानसिक र शारीरिक रुपमा स्वस्थ रहनुपर्ने बताए ।

आतंकवादी समूह आईएसका कार्यकर्ताको सामना गर्न राष्ट्रपति स्वस्थ रहनुपर्ने भन्दै उनले शारीरिक असक्तहरुले देशका लागि केही गर्न नसक्ने प्रतिक्रिया दिए ।  क्लिन्टन ६८ वर्षीया हुन् भने प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प ७० वर्षीय छन् ।

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com