आइसले प्रयोग गरेको ‘फेसियल रिकग्निसन’ प्रविधि, मोबाइलले खोल्छ व्यक्तिको सम्पूर्ण विवरण


प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिअन्तर्गत इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले पक्राउ प्रक्रिया छिटो बनाउन मोबाइल फेसियल रिकग्निसन प्रविधि प्रयोग गर्न थालेको छ। द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार आइस अधिकारीहरूले ‘मोबाइल फोर्टिफाइ’ नामक सरकारी एपमार्फत शंकास्पद व्यक्तिको पहिचान गर्दै आएका छन्।

यस एपको प्रयोगमार्फत अधिकारीहरूले मोबाइल फोनबाटै व्यक्तिको अनुहारको फोटो खिचेर नाम, ठेगाना, आपराधिक इतिहास, सामाजिक सञ्जालसम्बन्धी विवरण तथा कहिलेकाहीँ आप्रवासन स्थिति समेत पत्ता लगाउन सक्छन्। प्रशासनका अधिकारीहरूले यसलाई कानुनी कारबाहीका लागि प्रभावकारी उपकरणको रूपमा व्याख्या गरेका छन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार हालसम्म मोबाइल फोर्टिफाइ १ लाखभन्दा बढी पटक प्रयोग भइसकेको छ। यसले पक्राउ प्रक्रिया छिटो बनाउनुका साथै कानुनी हैसियत भएका व्यक्तिहरू अनावश्यक रूपमा हिरासतमा पर्ने घटना घटाउन सहयोग पुगेको दाबी गरिएको छ।

मोबाइल फोर्टिफाइको विकास राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी)ले गरेको भए पनि ट्रम्प प्रशासनमा यसको प्रयोग व्यापक बनाइएको हो। अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सञ्चालन गर्ने प्रतिज्ञा गरेका ट्रम्पले प्रविधिमा आधारित कारबाहीलाई प्राथमिकता दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कांग्रेसले आइसलाई थप ७५ अर्ब डलर बजेट उपलब्ध गराएपछि नयाँ प्रविधिमा लगानी र प्रयोग अझ तीव्र भएको छ। यस क्रममा आँखाको स्क्यान प्रविधि र आप्रवासी पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको प्रयोगसमेत अघि बढाइएको छ।

तर, गोपनीयता अधिकारकर्मीहरू र डेमोक्र्याट सांसदहरूले भने यस प्रविधिको तीव्र प्रयोगले नागरिक स्वतन्त्रता र व्यक्तिगत गोपनीयतामा गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। अमेरिकी सिभिल लिबर्टिज युनियनले अनुहार पहिचान प्रविधि व्यापक निगरानीको माध्यम बन्न सक्ने बताएको छ।

यसैबीच, डिएचएसले मोबाइल फोर्टिफाइ पूर्ण रूपमा कानुनी प्रावधानअनुसार प्रयोग भइरहेको र डाटाको प्रयोग, भण्डारण तथा पहुँचमा कडा नियम लागू गरिएको स्पष्ट पारेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com