वेस्ट ब्याङ्कमा जबरजस्ती विस्थापनको अवस्थामा बाँचिरहेका छन् १२ हजार प्यालेस्टाइन बालबालिका


प्रकाशित मिति : पुस २०, २०८२ सोमबार

गाजा सिटीको बन्दरगाह नजिकै अस्थायी आश्रयस्थलमा विस्थापित प्यालेस्टिनी बालिका । तस्वीर : रिजेक अब्देलजावाद/सिन्ह्वा-रासस

इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणामस्वरूप १२ हजारभन्दा बढी प्यालेस्टाइन बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन“ को अवस्थामा बाँचिरहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले जनाएको छ ।

सन् २०२५ जनवरी २१ देखि इजरायली सेनाले उत्तरी वेस्ट ब्याङ्कमा “आइरन वाल“ भनेर चिनिने सैन्य कारबाही गरिरहेको छ, जुन जेनिन शरणार्थी शिविरबाट सुरु भएर नूर शम्स र तुलकार्म शरणार्थी शिविरहरूमा विस्तार भएको छ ।

युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समार्फत कब्जामा रहेको वेस्ट ब्याङ्कमा बालबालिकाहरुको जबरजस्ती विस्थापनको अवस्थाबारे बताएको हो ।

एजेन्सीले उत्तरी वेस्ट ब्याङ्कमा विस्थापित बालबालिकाहरूका लागि आपतकालीन शिक्षा कार्यक्रम सुरु गरी अस्थायी सिकाइ, अनलाइन शिक्षण, आत्म–सिकाइ सामग्रीको वितरण र मनो–सामाजिक समर्थनको माध्यमबाट उनीहरूको शिक्षाको निरन्तरता सुनिश्चित गरेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएनआरडब्लुएले वेस्ट ब्याङ्कका स्कुलहरूमा करिब ४८ हजार प्यालेस्टाइन बालबालिका अध्ययनरत रहेको उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर ७ मा गाजा पट्टीमा युद्ध सुरु भएदेखि इजरायली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टाइन नागरिकहरूको हत्या गर्ने, घरहरू ध्वस्त पार्ने, बासिन्दाहरूलाई विस्थापित गर्ने र बस्ती निर्माण विस्तार गर्ने जस्ता कार्यहरू तीव्र पारेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com