अमेरिकाको लस एन्जलसका टिकटक स्ट्रिमर पारियासविरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज


प्रकाशित मिति : पुस १४, २०८२ मंगलबार

अमेरिकाको एक संघीय अदालतले लस एन्जलसका चर्चित टिकटक स्ट्रिमर कार्लिटोस रिकार्डो पारियासविरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज गरेको छ। आप्रवासन हिरासतमा रहेका बेला उनका वकिलहरूलाई उनीसम्म पुग्न नदिइएको भन्दै अदालतले यसलाई संविधान उल्लङ्घनको गम्भीर मामला ठहर गरेको हो।

अमेरिकी जिल्ला न्यायाधीश फर्नान्डो ओलगुइनले शनिबार पारियासमाथि दायर अभियोगसहित खारेज गर्ने आदेश दिएका छन्, जसका कारण अब सरकारले उही आरोपमा पुनः मुद्दा दायर गर्न सक्ने छैन। अदालतका अनुसार संघीय निकायहरूले आपसी समन्वय नगरी आपराधिक प्रक्रिया अघि बढाउँदा पारियासका प्रतिरक्षा अधिकारहरू उल्लङ्घन भएका थिए।

न्यायाधीश ओलगुइनले आप्रवासन हिरासतमा रहेका पारियाससँग उनका आपराधिक प्रतिरक्षा वकिलहरूलाई भेट्न वा कुराकानी गर्न नदिँदा निष्पक्ष सुनुवाइको अधिकार कुण्ठित भएको आदेशमा उल्लेख गरेका छन् । “सरकारी निकायहरूको असमन्वयले संविधान उल्लङ्घन हुने अवस्था सिर्जना भयो ।”, आदेशमा भनिएको छ।

लस एन्जलसस्थित अमेरिकी अभियोजन कार्यालयले अदालतको निर्णयप्रति असहमति जनाउँदै अपिलका विकल्पहरू अध्ययन गरिरहेको जनाएको छ। अभियोजन पक्षले अदालतले तथ्य र कानुनी निष्कर्ष दुवैमा त्रुटि गरेको दाबी गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना अभियोग लगाइएका पारियासमाथि संघीय अधिकारीमाथि घातक वा खतरनाक हतियार प्रयोग गरी आक्रमण गरेको र सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको आरोप थियो। ती आरोपहरू अक्टोबरमा भएको एक घटनासँग जोडिएका हुन्, जसमा आप्रवासन वारेन्टमा पक्राउ गर्न खोज्दा उनले आफ्नो सवारीसाधन संघीय अधिकारीहरूको गाडीमा ठोकेको आरोप लगाइएको थियो। सो क्रममा उनलाई गोली लागेको थियो।

धरौटीमा रिहा गरिए पनि पारियासलाई क्यालिफोर्नियाको एडेलान्तोस्थित आप्रवासन हिरासत केन्द्रमा राखिएको थियो। उनी स्पेनिस भाषामा टिकटकमार्फत प्रहरी र आप्रवासन कार्यान्वयनसम्बन्धी गतिविधि सार्वजनिक गर्दै आएका कारण दक्षिण लस एन्जलस क्षेत्रमा चर्चित छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com