अमेरिकामा बच्चा काखमा बोकेकी महिलाको गोली लागेर मृत्यु


प्रकाशित मिति : पुस १३, २०८२ सोमबार

Oklahoma Police

अमेरिकाको ओक्लाहोमा राज्यमा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ। क्रिसमस उपहारका रूपमा किनेको बन्दुकबाट दुर्घटनावश चलेको गोली लागेर छिमेकी महिलाको ज्यान गएको हो।

यस घटनापछि गोली चलाउने ३३ वर्षीय कोडी वेन एडम्सलाई ‘फर्स्ट डिग्री मर्डर’ (प्रथम श्रेणीको हत्या) को अभियोग लगाइएको छ।

स्टेफेन्स काउन्टी शेरिफ कार्यालयका अनुसार, मृतक स्यान्ड्रा फेल्प्स क्रिसमसको दिन आफ्नै घरको अगाडि पोर्चमा बच्चालाई काखमा बोकेर बसिरहेकी थिइन्। सोही समयमा उनलाई गोली लागेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, गोली चलेको आवाज सुनेपछि फेल्प्सले “आउच” भन्दै ऐया गरेकी थिइन् र लगत्तै भुइँमा ढलेकी थिइन्।

प्रहरी अधिकारीहरूका अनुसार, एडम्सले आफूले भर्खरै किनेको ह्यान्डगनले आफ्नै घरको पछाडिको आँगनमा रहेको पेय पदार्थको क्यान लाई निशाना बनाएर गोली चलाइरहेका थिए। फेल्प्स बसिरहेको ठाउँ एडम्सले गोली चलाएको स्थानभन्दा करिब आधा माइल टाढा थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शेरिफ कार्यालयका क्याप्टेन टिमोथी भानका अनुसार, आफूले चलाएको गोली महिलालाई लागेको थाहा पाएपछि एडम्स रोएका थिए। गोली फेल्प्सको दाहिने हातको माथिल्लो भागमा लागेर छातीभित्र पसेको थियो। घटनाको समयमा उनको देब्रे हातमा बच्चा रहेको बताइएको छ।

ओक्लाहोमाको कानुनअनुसार, कसैलाई मार्ने स्पष्ट उद्देश्य नभए पनि यदि कसैको लापरवाहीपूर्ण कार्यबाट अरूको ज्यान जान्छ भने त्यसलाई ‘प्रथम श्रेणीको हत्या’ मानिन्छ। यस घटनामा बन्दुक प्रयोग गर्दा अरूको सुरक्षाप्रति “जानीजानी लापरवाही” देखाएको अभियोगमा उल्लेख छ। यो अभियोगमा दोषी ठहर भएमा अभियुक्तलाई आजीवन कारावाससम्मको सजाय हुन सक्छ।

अमेरिकामा बन्दुक प्रहारका घटनाहरू लामो समयदेखि गम्भीर सामाजिक र राजनीतिक समस्याका रूपमा रहँदै आएका छन्। अन्य विकसित देशहरूको तुलनामा अमेरिकामा बन्दुकको स्वामित्व अत्यन्तै उच्च छ, जसका कारण व्यक्तिगत, सामूहिक तथा आकस्मिक गोलीकाण्डका घटनाहरू बारम्बार हुने गरेका छन्।

अमेरिकी संविधानको दोस्रो संशोधनले नागरिकलाई हतियार राख्ने अधिकार दिएको छ। यही कानुनी व्यवस्थाका कारण धेरै राज्यहरूमा बन्दुक किन्न र राख्न तुलनात्मक रूपमा सजिलो छ। यद्यपि, यसले सार्वजनिक सुरक्षामा ठूलो चुनौती थपेको भन्दै कडा आलोचना समेत हुने गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com