यमपञ्चक शुरु, आज काग तिहार


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

३१ असोज, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । आज पहिलो दिन काग तिहार मनाइँदैछ ।

कागलाई यमराजको दूत मानेर पूजा गर्ने र मिठा परिकार खुवाउने प्रचलन छ । कागलाई खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ । आज पहिलो दिन काग तिहारसँगै आयुर्वेद चिकित्साका पिता धनवन्तरी जयन्ती पनि मनाइन्छ ।

यसैगरी कात्तिक १ गते कुकुर तिहार र नरक चतुर्दशी, २ गते लक्ष्मी पूजा, कात्तिक ३ गते गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते भाइटीका परेको छ । यसपटक भाइटीकाको साइत ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्नो दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यम पञ्चक पनि भन्ने गरिन्छ ।

धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलि राजालाई कात्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकमा राज्य गर्न पाउने वरदान दिएको र त्यसको खुशियालीमा बलि राजाले आफ्नो राज्यभर दिपावली गरेको प्रसंगसँग पनि तिहारलाई जोड्ने गरिन्छ । तिहारमा घरघरमा दिपावली गरी देउँसी भैलो खेल्ने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com