ट्रम्पसँगको विवादपछि कंग्रेस छोड्ने घोषणा गरेकी ग्रिनले उप-निर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने
प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि कंग्रेस सदस्यबाट राजीनामा दिने घोषणा गरेकी चर्चित रिपब्लिकन नेतृ मर्जोरी टेलर ग्रिनले विशेष निर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने घोषणा गरेकी छिन्।
उनले आफूलाई प्रतिस्थापन गर्न हुने विशेष निर्वाचनमा कसैलाई समर्थन नदिने घोषणा गरेकी हुन्।
उनको यो घोषणाले उनलाई मन परेको उम्मेदवार र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक उम्मेदवारबीच हुनसक्ने टकरावलाई जोगाएको छ।
ग्रिनले सामाजिक सञ्जाल एक्स मा लेख्दै जनवरीमा कंग्रेस छोडेपछि हुने जर्जियाको १४ औँ कंग्रेसनल जिल्लाको विशेष निर्वाचनमा आफू तटस्थ रहने स्पष्ट पारिन्।
जिल्लाप्रतिको सम्मानका कारण कंग्रेसनल सिटका लागि हुने विशेष निर्वाचनमा कसैलाई समर्थन नगर्ने निर्णय लिएको उनको भनाइ छ। उनको तटस्थताले ट्रम्पका सहयोगीहरूलाई आफ्नो रोजाइको उम्मेदवार अघि बढाउन मार्ग खुला गरेको छ।
यो क्षेत्र निकै रिपब्लिकन झुकाव भएको जिल्लामा पर्छ, जहाँ ग्रिनले २०२४ मा २८ अंकको फराकिलो अन्तरले जित हात पारेकी थिइन्।
कंग्रेस छोड्ने आफ्नो आकस्मिक निर्णयको घोषणा गर्दा ग्रिनले राष्ट्रपति ट्रम्पसँग अब दूरी बढेको उल्लेख गरेकी थिइन्। उनले ट्रम्प–समर्थित उम्मेदवारसँग “घृणायुक्त र पीडादायी प्राथमिक चुनाव” भिड्नु नपरोस् भन्ने चाहनाले पनि आफूले राजीनामा गर्ने निर्णय गरेको बताएकी थिइन्।
विशेष निर्वाचन ग्रिनले आफ्नो पद त्यागेपछि मात्रै तालिकाबद्ध हुनेछ। जर्जिया कानूनअनुसार आदेश जारी भएको कम्तीमा ३० दिनपछि मात्र विशेष निर्वाचन हुन सक्छ।
जर्जियन रिपब्लिकन अधिकारीले विशेष निर्वाचन सम्भवतः मार्चमा हुने बताएका छन्।








