अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष बीबीसीले माग्यो माफी, क्षतिपूर्तिको दाबी भने अस्वीकार


प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार

ब्रिटिश ब्रड्कास्टिङ्ग कर्पोरेसन (बीबीसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष माफी मागे पनि ट्रम्प पक्षले दायर गर्न लागेको मानहानीसम्बन्धी मुद्दाको कुनै कानुनी आधार नरहेको स्पष्ट गरेको छ।

सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनभन्दा केही दिनअघि बीबीसीको ‘पानोरामा’ कार्यक्रममा प्रसारित एक वृत्तचित्रमा ६ जनवरी २०२१ मा क्यापिटोलमाथि भएको आक्रमणसम्बन्धी ट्रम्पको भाषणका तीन छुट्टाछुट्टै अंशलाई जोडेर सम्पादन गरिएको थियो। यस सम्पादनले ट्रम्पले हिंसाका लागि आह्वान गरेजस्तो देखिने प्रभाव पारेको आरोप लागेको थियो।

वृत्तचित्रबारे विवाद चर्किएपछि बीबीसीका अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई पत्र लेख्दै गलत सम्पादन भएकोमा क्षमायाचना गरेका हुन्। शाहले यसअघि ब्रिटिश संसदीय समितिसमक्ष पनि सो सम्पादनलाई ‘निर्णयमा भएको गल्ती’ भनेका थिए।

तर, बीबीसीले भने ट्रम्पले मागेको क्षतिपूर्तिको कानुनी आधार नरहेको बताएको छ। ट्रम्पका वकिलहरूले बीबीसीले माफी नमागि, वृत्तचित्र फिर्ता नलिई तथा आर्थिक र प्रतिष्ठागत क्षतिको क्षतिपूर्ति नदिएसम्म १ अर्ब डलरसम्मको मुद्दा दायर गर्ने चेतावनी दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रिटेनकी संस्कृति मन्त्री लिसा न्यान्डीले बीबीसीले माफी माग्नु उचित भएको प्रतिक्रिया दिएकी छन्। उनले बीबीसीले उच्च सम्पादकीय मापदण्ड कायम राख्न नसकेको स्वीकार गर्नु सकारात्मक भएको बताइन्।

यसैबीच बीबीसीले विवादित वृत्तचित्र पुनःप्रसारण गर्ने कुनै योजना नभएको जनाएको छ। यस्तै, “न्यूजनाइट” कार्यक्रममार्फत सोही भाषणका थप सम्पादनसम्बन्धी आरोपबारे पनि छानबिन थालिएको जनाएको छ।

ट्रम्पको भाषण सम्पादनलगायत पक्षपातका आरोपका कारण बीबीसी पछिल्ला दशकको सबैभन्दा ठूलो संकटमा परेको छ। विवाद चुहिएको आन्तरिक प्रतिवेदनपछि संस्थाका दुई वरिष्ठ कार्यकारीहरूले राजीनामा गरिसकेका छन्।

बेलायती प्रधानमन्त्री कीअर स्टार्मरले बीबीसीलाई “सबल र स्वतन्त्र” रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com