भारतको नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट, ८ जनाको मृत्यु  


प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार

भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रहरी र अग्नि नियन्त्रण सेवाका अनुसार विस्फोट सोमबार साँझ ६ बजेर ५५ मिनेटमा ह्युन्डाइ आई-२० गाडीमा भएको हो।

दिल्ली प्रहरी प्रवक्ता संजय त्यागीले घटनामा आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यस्तै, केही घाइते भएका छन्। दिल्ली प्रहरी कमिश्नर सतीश गोल्चाले विस्फोटले वरपरका गाडीहरूमा क्षति पुगेको जानकारी दिएका छन्। प्रारम्भिक रिपोर्ट अनुसार विस्फोटको समयमा गाडीमा यात्रुहरू पनि रहेका थिए।

गृहमन्त्री अमित शाहले घटनास्थलको निरीक्षण गर्न घटनास्थलतर्फ प्रस्थान गरेका छन्। उनले भनेका छन्, “विस्फोटको जानकारी पाएपछि तुरुन्तै एनएसजी, एनआईए र एफएसएलका टोलीहरू घटनास्थलमा पुगेर गहिरो अनुसन्धान सुरु गरेका छन्। सबै सीसीटीभी फुटेज र प्रमाणहरूको विस्तृत जाँच भइरहेको छ।”

प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी नेता राहुल गान्धीले पनि घटनामा ज्यान गुमाउने र घाइते हुनेप्रति दुस्ख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल “एक्स” मा लेख्दै घटनाको स्थिति समीक्षा भइरहेको जानकारी दिएका छन्। राहुल गान्धीले लेखेका छन्, “दिल्लीको लाल किल्ला नजिक भएको कार विस्फोटको खबर अत्यन्तै दुःखद र चिन्ताजनक छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिल्ली अग्नि नियन्त्रण सेवाका अनुसार, विस्फोटपछि सातवटा दमकलका गाडी घटनास्थलमा पठाइएका थिए। करिब ६ वटा गाडी विस्फोटको चपेटामा परेको र वरपरका अन्य गाडीहरूमा पनि क्षति पुगेको बीबीसी हिन्दीमा प्रकाशित समाचार उल्लेख गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com