बीबीसीविरुद्ध १ बिलियन डलर क्षतिपूर्ति दावी गर्दै मुद्दा दायर गर्ने ट्रम्पको चेतावनी
प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको सार्वजनिक प्रसारक बीबीसीविरुद्ध १ बिलियन अमेरिकी डलर क्षतिपूर्ति दावी गर्दै मुद्दा दायर गर्ने चेतावनी दिएका छन्। ट्रम्पले बीबीसीले आफ्नो प्रशासन र सन् २०२१ जनवरी ६ का घटनाबारे झूटो र बदनाम गर्ने खालको समाचार प्रसारण गरेको आरोप लगाएका छन्।
यो घटनाक्रम बीबीसीमा देखिएको गहिरिँदो संकटबीच आएको हो। आइतबार मात्र बीबीसीका कार्यकारी निर्देशक टिम डेभी र समाचार विभागकी प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका थिए। उनीहरूलाई अमेरिकी क्यापिटल दङ्गासँग सम्बन्धित ट्रम्पका अभिव्यक्तिहरूको कभरेजमा राजनीतिक पक्षपात देखाएको आरोप लागिरहेको थियो।
ट्रम्पको कानुनी टोलीले बीबीसीलाई नोभेम्बर १४ (आगामी शुक्रबार) बेलुकी १० बजे (बेलायती समय) सम्म “गलत, अपमानजनक र भड्काउने” विवरणहरू फिर्ता लिन अल्टिमेटम दिएको छ। बीबीसीले उक्त माग पूरा नगरे ट्रम्पले १ बिलियन डलरभन्दा कम नहुने क्षतिपूर्ति दावी गर्दै कानुनी मुद्दा दर्ता गर्ने चेतावनी दिएका हुन् ।
बीबीसीका प्रवक्ताले प्रतिक्रिया दिँदै भनेका छन्, “हामी पत्रको समीक्षा गर्दैछौं । आवश्यक समयमा प्रत्यक्ष प्रतिक्रिया दिनेछौं।”
उनले बीबीसीका दुई उच्च पदस्थ अधिकारी (डेभि र टर्नेस) को राजीनामालाई स्वागत गर्दै संस्थालाई ‘भ्रष्ट पत्रकारहरूको अड्डा’ भनेका छन्।
विशेष गरी यो विवाद बीबीसीको प्रमुख वृत्तचित्र कार्यक्रम पानोरमा ले सन् २०२४ मा ट्रम्पको भाषणको सम्पादनमा “भ्रामक दृश्य” प्रस्तुत गरेको आरोप सार्वजनिक भएपछि चर्किएको हो। उक्त कार्यक्रममा ट्रम्पको भाषणका दुई फरक अंशलाई जोडेर देखाइएको थियो, जसले क्यापिटोल हिंसासँग उनको सम्बद्धता झल्काउने प्रयास भएको ट्रम्प पक्षको आरोप छ।
राजीनामापछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “द टेलिग्राफले यी भ्रष्ट पत्रकारहरूलाई उजागर गरेकोमा धन्यवाद। यी मानिसहरूले राष्ट्रपति चुनावलाई प्रभावित पार्ने प्रयास गरे। अझ विडम्बना, उनीहरू हाम्रो प्रमुख सहयोगी राष्ट्रका हुन्। यो लोकतन्त्रका लागि लज्जाजनक कुरा हो।”
बीबीसीका अध्यक्ष समीर शाहले सोमबार सम्पादनसम्बन्धी गल्ती स्वीकार गर्दै माफी मागेका छन्। उनले यसलाई निर्णयमा भएको त्रुटि बताएका छन्।
यसअघि अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि बीबीसीलाई ‘१०० प्रतिशत फेक न्युज’ र ‘प्रचार मेशिन” भन्दै आलोचना गरेकी थिइन्। उनले भनिन्, “बेलायत भ्रमणका बेला बीबीसी हेर्दा दिन बिग्रिन्छ। करदाताहरूलाई वामपन्थी प्रचार संस्थाको खर्च व्यहोर्न बाध्य पारिएको छ।”
बीबीसी पछिल्ला वर्षहरूमा दुवै धारका आलोचनामा परेको छ । दक्षिणपन्थीहरूले यसलाई उदारवादी पक्षपातको आरोप लगाउँछन् भने वामपन्थीहरूले कन्भरभेटिभ सरकारहरूको दबाबमा परिरहेको बताउँछन्।
यसबीच, न्यूयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले ट्रम्प प्रशासनका नीतिहरूले अमेरिकी प्रेस स्वतन्त्रतामाथि दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएको छ ।
ट्रम्पलाई सन् २०२१ मा क्यापिटोल हिलमा भएको हिंसात्मक घटनापछि “विद्रोहमा उक्साउने” अभियोगमा महाभियोग लगाइएको थियो । तर, सीनेटमा रिपब्लिकनहरूको समर्थनका कारण उनी निर्दोष ठहरिएका थिए।








