बालकोटमा केपी ओली र ईश्वर पोखरेलको असक्षमता छताछुल्ल


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

विभिन्न पार्टीका नेतालाई धमाधम एमालेमा भित्र्याउँदै हिँडेका एमाले नेता केपी ओली आइतबार दिनभरि बालकोटस्थित आफ्नो निवासमा चिटचिट पसिना काढ्न बाध्य भए । महासचिव ईश्वर पोखरेलको व्यवस्थापकीय कमजोरी पनि बालकोटमा राम्रैसित झल्कियो ।

निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका दिएको थियो । यस अनुसार एमालेले केन्द्रीय संसदका ११० जना र प्रादेशिक संसदका २२० गरी ३३० जना समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाउनुपर्ने थियो । तर, समय घर्किन लाग्दासम्म एमाले अध्यक्ष र महासचिवले सूची तयार पार्न सकेनन् ।

अन्ततः एमालेले आइतबार रातिसम्म पनि उम्मदेवारहरुको सूची बनाउन सकेन र एउटा डमी सूची बनाएर आयोगमा कृष्णगोपाल श्रेष्ठमार्फत दर्ता गरायो ।

एमालेका एक केन्द्रीय नेताले अनलाइनखबरसँग भने- ‘उम्मेदवारी छनोट कार्य एकदमै भद्रगोल भयो, त्यसैले आज डमी लिष्टमात्रै बुझाइएको छ, अबको ७ दिनभित्र पार्टीले बैठक बसेर उम्मेदवारहरुको अन्तिम टुंगो लगाउनेछ ।’

उम्मेदवारी छनोटमा अध्यक्ष ओली र महासचिव ईश्वर पोख्रेलले एकलौटी गरेको माधव नेपाल पक्षको गुनासो छ ।

जिल्ला र क्षेत्रबाट आएका नामहरुको टुंगो लगाउन सचिवालयको बैठकसमेत नडाकिएको र पदाधिकारीलाई समेत बाइपास गरेर कोटरीका मानिसमार्फत् सूची तयार पार्ने प्रयास भएको भन्दै नेपाल पक्षले आयोगमा बुझाइएको सूचीलाई नमान्ने बताएको छ ।

उम्मेदवारको सूचीबारे टुंगो लगाउन पार्टी कार्यालयमा बैठक नबसी आइतबार ओली निवास बालकोटमा बैठक बोलाइएको थियो । ओलीनिवास वरिपरि टिकटका आकांक्षीहरुको भीड लागेको थियो ।

समानुपातिक सूचीमा परेनन् शीर्षनेता

एमाले स्रोतका अनुसार निर्वाचन आयोगमा बुझाइएको ‘डमी लिष्ट’ मा पार्टीका शीर्ष नेताहरुको नाम छैन । ठूला नेताहरु सबै प्रत्यक्ष चुनाव लड्ने एमालेले निर्णय गरेको छ ।

सूचीमा केही केन्द्रीय सदस्यहरुको नाम भएता पनि माओवादीमा जस्तै महिलाहरुले प्राथमिकता पाउने स्थिति रहेको एमाले नेताको भनाइ छ । प्रत्यक्षतर्फ पुरुषहरुले बढी जित्ने स्थितिमा ३३ प्रतिशत पुर्‍याउन महिलालाई प्राथमिकता दिनुपर्ने बाध्यता एमालेलाई पनि छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com