इजरायलका आलोचक ब्रिटिश पत्रकार सामी हमदी अमेरिकामा अध्यागमन हिरासतमा


प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार

इजरायलको मुखर आलोचकका रूपमा परिचित ब्रिटिश पत्रकार तथा मिडिया टिप्पणीकार सामी हमदीलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले पक्राउ गरेको छ। सामी हमदी सप्ताहन्तमा अमेरिकाको एक भाषण भ्रमणमा रहेका बेला आइसका अधिकारीहरूद्वारा हिरासतमा लिइएका हुन् । उनको भिसा रद्द गरिएको छ।

हमदीलाई देशबाट निष्कासनको प्रक्रिया पूरा नभएसम्म आइसको हिरासतमा राखिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालय र आइसले हमदीमाथि आतंकवादलाई समर्थन गरेको र राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको आरोप लगाएका छन्। अर्कोतर्फ मुस्लिम अधिकारकर्मीहरूको एक समूहले भने हमदीलाई उनको वाक स्वतन्त्रताको अधिकार हनन गर्दै राजनीतिक निशाना बनाइएको तर्क गरेको छ।

विदेश मन्त्रालयले सामाजिक सञ्जालमा हमदीको हिरासतबारे टिप्पणी गर्दै आतंकवादलाई समर्थन गर्ने र अमेरिकीहरूको सुरक्षालाई सक्रिय रूपमा कमजोर पार्ने विदेशीहरूलाई अमेरिकाले आतिथ्य प्रदान गर्ने कुनै दायित्व नभएको बताएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको भिसा रद्द गर्ने कार्यलाई जारी राख्ने पनि विदेश मन्त्रालयले जनाएको छ।

मुस्लिम नागरिक अधिकार र वकालत गर्ने संस्था, काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्सले एक विज्ञप्ति जारी गर्दै हमदीलाई आइतबार सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको र यसको कारण गाजामा भइरहेको आक्रमणको आलोचना हुनसक्ने बताएको छ। हमदीले शनिबार क्यालिफोर्नियामा एक वार्षिक गालामा सम्बोधन गरेका थिए र आइतबार अर्को गालामा बोल्ने कार्यक्रम थियो, तर त्यसअघि नै उनी पक्राउ परे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमदीको गिरफ्तारी दक्षिणपन्थी राजनीतिक कार्यकर्ता र ट्रम्प समर्थक लौरा लुमरले एक्समा हमदीमाथि आतंकवादी संगठनहरूलाई समर्थन गरेको आरोप लगाउँदै शृङ्खलाबद्ध पोस्ट गरेपछि भएको हो। इजरायलको गाजा युद्धको खुलेआम आलोचना गर्ने व्यक्तिहरूको भिसा रद्द गरिएको यो पहिलो घटना होइन। यसअघि मार्चमा, कोलम्बिया विश्वविद्यालयका स्नातक र प्यालेस्टाइन समर्थक कार्यकर्ता महमूद खलीललाई पनि पक्राउ गरिएको थियो र देश निकाला गर्ने धम्की दिइएको थियो, जसको मुद्दा अझै चलिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com