४ अमेरिकी नागरिक पक्राउपछि न्युयोर्कमा आइसका फुटेज पठाउन मिल्ने पोर्टल सुरु
प्रकाशित मिति : कार्तिक ७, २०८२ शुक्रबार
अक्टोबर २१, २०२५, मंगलबार न्यूयोर्कमा भएको छापापछि आप्रवासन दमनको विरोधमा प्रदर्शनकारीहरू प्रहरीसँग मुठभेडमा परेका छन्। (एपी फोटो/ओल्गा फेडोरोभा)
न्युयोर्क राज्यका महान्यायाधिवक्ता लेटिशिया जेम्सले राज्यभरका संघीय अध्यागमन कारवाहीका तस्बिर र भिडियोहरू साझा गर्न न्युयोर्कका बासिन्दाहरूलाई आग्रह गर्दै संघीय कारवाही रिपोर्टिङ पोर्टल सुरु गरेकी छिन् । म्यानहट्टनको चाइनाटाउनमा भएको आइसको एउटा ठूलो छापाले सयौंलाई विरोधमा उत्रिन प्रेरित गरे लगत्तै यो पोर्टल ल्याइएको हो।
मङ्गलबारको छापापछि चार अमेरिकी नागरिकलाई पक्राउ गरी झन्डै २४ घण्टा हिरासतमा राखिएको थियो भने न्युयोर्कमा मङ्गलबार र बुधवार साँझ प्रदर्शनहरू भएका थिए। प्रत्येक न्युयोर्कवासीलाई डर वा धम्कीबिना बाँच्ने अधिकार भएको उल्लेख गर्दै पोर्टलको सुरुवात भएको हो ।
कसैले आइसको गतिविधि देखेको भएमा र त्यसलाई रेकर्ड गरेको भएमा त्यो फुटेज आफ्नो कार्यालयमा पठाउन महान्यायाधिवक्ता लेटिशिया जेम्सले आग्रह गरेकी हुन् । यी रिपोर्टहरूको समीक्षा गर्न र कानुनको कुनै पनि उल्लङ्घनको मूल्याङ्कन गर्न प्रतिबद्ध रहेको उनले बताएकी छिन् ।
अनलाइन पोर्टलमा आइसको छापाको तस्बिर र भिडियो फुटेज पेश गर्नका साथै स्थान जानकारी उल्लेख गर्ने ठाउँ पनि प्रदान गरिएको छ । पेश गर्नुअघि, प्रयोगकर्ताहरूले एउटा बक्समा टिक लगाउनुपर्छ, जसले आफूले उपलब्ध गराएका कुनै पनि कागजातहरू, तस्बिरहरू वा भिडियोहरूलाई कानूनी कारवाही वा सार्वजनिक रिपोर्ट वा वक्तव्य सहितको सार्वजनिक दस्तावेजमा प्रयोग गर्न सकिने जनाउँछ ।
चाइनाटाउनमा भएको छापामा ५० भन्दा बढी संघीय एजेन्टहरू संलग्न थिए । यो छापा प्रायः पर्यटकहरूलाई दैनिक ठूलो मात्रामा नक्कली ह्यान्डब्याग, सामान, गरगहना र अन्य वस्तुहरू बिक्री हुने म्यानहट्टनको एक प्रख्यात क्षेत्रमा भएको थियो ।
मङ्गलबारको छापाका भिडियोहरूले धेरै मास्क लगाएका र हतियार बोकेका संघीय एजेन्टहरूले एक जना मानिसलाई जिप टाई लगाएर हिरासतमा लिएको र हेरिरहेका मानिसहरूलाई धकेलेको देखाउँछन्। न्युयोर्कवासीहरूको एउटा भीड सडक र फुटपाथ हुँदै एजेन्टहरूको पछि लागेको थियो। एउटा सैन्य बख्तरबन्द गाडी पनि सहरका सडकहरूमा गुडिरहेको देखिएको थियो।
आइसले हिरासतमा लिइएका केही आप्रवासीहरूको आपराधिक रेकर्डहरूको विवरण दिँदै एक प्रेस विज्ञप्ति जारी गरेको थियो । पक्राउ परेका अन्य चार अमेरिकी नागरिकलाई झन्डै २४ घण्टासम्म हिरासतमा राखेपछि विना कुनै अभियोग रिहा गरिएको थियो । यो अपराधीहरूलाई सडकबाट हटाएर देश निकाला गर्ने विषय नभई तनाव भड्काउने एउटा सैन्यीकृत प्रयास रहेको अधिकारकर्मीहरुको भनाई छ ।
आइसको छापालाई लिएर आक्रोश फैसलएको छ भने तीनवटै मेयरका उम्मेदवारहरूले छापाको निन्दा गरेका थिए । गभर्नर क्याथी होकुलले पनि त्यसै गरेका थिए । मेयरका उम्मेदवार जोहरान मामदानीले ट्रम्प प्रशासनद्वारा डर पैदा गर्ने, सुरक्षा नदिने निरंकुश नाटक रोजिएको र यो रोकिनुपर्ने बताएका थिए । न्युयोर्क शहरका आप्रवासी अधिकार समूहहरूले पनि छापाविरुद्ध बोलेका छन्।






