अमेरिकामा भारत, चीन र नाइजेरियाका विद्यार्थीहरु घट्दा नेपालका विद्यार्थी संख्यामा बृद्धि


प्रकाशित मिति : कार्तिक ४, २०८२ मंगलबार

एआईको सहयोगबाट निर्मित तस्वीर

अमेरिकामा सेप्टेम्बरको तुलनामा अक्टोबरमा भारत, चीन र नाइजेरियासहित विश्वका विभिन्न देशका विद्यार्थीहरुको संख्यामा गिरावट देखिदा ब्राजिल र नेपाल लगायतका देशका विद्यार्थीहरुको संख्यामा भने बृद्धि देखिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सेभिज तथ्यांक अनुशार अमेरिकामा अक्टोबरमा सबैभन्दा धेरै संख्यामा बृद्धि हुनेमा ब्राजिलियन विद्यार्थीहरु रहेका छन् भने दोश्रोमा नेपालीहरु रहेका छन् ।

तथ्यांक अनुशार सेप्टेम्बरमा सकृय सेभिज रेकर्ड भएका नेपाली विद्यार्थीहरुको संख्या अमेरिकाभर ३४ हजार ८ सय ७ रहेकोमा अक्टोबरमा यो संख्यामा ४६६ ले बृद्धि भई ३५ हजार २ सय ७३ पुगेको छ । जसमा १९ हजार ६ सय ५८ जना पुरुषहरु र १५ हजार ६ सय १५ जना महिलाहरु रहेका छन् । उनीहरुमा एसोसिएट अध्ययनरत ७ हजार २ सय ८४ जना, ब्याचलर अध्ययनरत १३ हजार २१ , डाक्टरेट अध्ययनरत ४ हजार २ सय ८६, फ्लाइट स्कुलमा ५८ जना, भाषा तालिममा ३१२ जना र मास्टर्स अध्ययनरत १० हजार ८६ जना रहेका छन् ।

सेप्टेम्बरको तुलनामा अक्टोबरमा एसोसियटमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । यो संख्या सेप्टेम्बरमा ६ हजार ८ सय ३६ रहेकोमा अक्टोबरमा ४४८ ले बृद्धि भई ७ हजार २ सय ८४ पुगेको देखिन्छ । ब्यचालर अध्ययनरत नेपाली विद्यार्थी पनि सेप्टेम्बरमा १२ हजार ६ सय ८२ रहेकोमा अक्टोबरमा ३३९ जनाले बृद्धि भएको देखिन्छ । तर डाक्टरेट अध्ययनरत नेपाली विद्यार्थीहरु सेप्टेम्बरमा ४ हजार ३ सय ३६ रहेकोमा अक्टोबरमा गिरावट आएको छ । फ्लाइट स्कुल र भाषा तालिममा रहेकाहरुको संख्या पनि गिरावट आएको छ ।

मास्टर्समा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्यामा सेप्टेम्बरको तुलनामा अक्टोबरमा गिरावट आएको देखिएको छ । सेप्टेम्बरमा यो संख्या १० हजार ३ सय ३१ रहेकोमा अक्टोबरमा १० हजार ८६ मा झरेको हो । अगस्तमा झण्डै २० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकाको यात्रा गरेको तथ्यांक सार्वजनिक भएपनि नेपाली विद्यार्थीका सन्दर्भमा भने अगस्तको तुलनामा सेप्टेम्बरमा पनि उल्लेख्य बृद्धि देखिएको थियो । अगस्तमा ३० हजार १९ जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड सकृय रहेकोमा सेप्टेम्बरमा यो संख्या ३४ हजार ८ सय ७ पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीबाहेक ब्राजिलका विद्यार्थीहरुको संख्यामा पनि सेप्टेम्बरको तुलनामा अक्टोबरमा ५२१ जनाले बृद्धि भएको छ । तर चिनिया विद्यार्थीहरुको संख्यामा १५ सय ३५ ले र भारतीय विद्यार्थीहरुको संख्यामा १७ हजार ६ सय १३ ले गिरावट आएको छ । त्यस्तै इरान, नाइजेरिया र साउदी अरेबियाका विद्यार्थीहरुको संख्यामा पनि सेप्टेम्बरको तुलनामा अक्टोबरमा गिरावट आएको छ ।

अमेरिकामा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये लगभग तीनमध्ये एक जना भारतीय छन्। गत वर्षदेखि नै भारतबाट आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घट्न थालेको थियो। यो संख्या अगस्तको तुलनामा सेप्टेम्बरमा बृद्धि देखिएपनि सेप्टेम्बरको तुलनामा अक्टोबरमा भने गिरावट आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com