अमेरिका बसाइको अवधि र भिसा उल्लंघनबारे जानकारी दिन सीबीपीको इमेल
प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार
अमेरिकाको अध्यागमन एजेन्सी सीबीपीले अमेरिका प्रवेश गर्ने केही यात्रुहरूलाई उनीहरूको अमेरिकामा बसोबासको स्थितिको ट्र्याक राख्न मद्दत गर्नको लागि ‘ट्राभलर कम्प्लायन्स चेक’ मार्फत इमेल सूचना पठाइरहेको जनाएको छ। आई-९४ वेबसाइट र सीबीपी लिंक मोबाइल एप्लिकेसनमा उपलब्ध ट्याब अन्तर्गतको यो सुविधाले यात्रुहरूलाई उनीहरूको अमेरिकामा कानूनी बसाइको अवधिमा कति दिन बाँकी छ वा तोकिएको मितिभन्दा कति दिन बढी बसोबास गरिसकेको छ भन्ने जानकारी दिन्छ।
यो समयावधि यात्रु अमेरिका आइपुगेको बेला प्रदान गरिएको प्रवेश अवधिका आधारमा गणना गरिन्छ। यो उपकरणले अर्को कदम र आवश्यक कार्यहरू बारेमा पनि जानकारी दिन्छ। सीबीपीले गत साता यसबारेको पृष्ठ अपडेट गरेको हो।
सीबीपीले यात्रुहरूलाई उनीहरूको प्रवेशका सर्तहरूको पालना सुनिश्चित गराउन सक्रिय कदम चालिरहेको बताएको छ। यसै क्रममा, अमेरिकामा बाँकी रहेको समयको बारेमा स्मरण गराउन र सम्भावित रूपमा बढी समय बसोबास गरेका यात्रुहरूलाई सूचित गर्न इमेल पठाउने गरिएको जनाएको छ। यात्रुहरूले उनीहरूको अमेरिका बसाइको अवधिको १० दिन बाँकी छँदा वा सम्भावित उल्लङ्घनको बारेमा इमेल प्राप्त गर्न सक्छन्।
इमेल प्राप्त गर्ने यात्रुहरूले आफ्नो स्थितिको जाँच सीबीपीको वेबसाइटमा गएर गर्न सक्छन्। सूचना आधिकारिक इमेल ठेगाना [email protected] बाट मात्र आउने र यसबाहेक अन्य ठेगानाबाट आएको इमेल फिसिङ वा धोखाधडी हुन सक्ने सीबीपीले जनाएको छ। इमेल सूचना नयाँ भए पनि सीबीपीको नीतिहरू वा प्रवर्तन कार्यहरूमा कुनै परिवर्तन नगरिएको जनाइएको छ। यात्रुहरूले आफैँ आफ्नो प्रवेशका सर्तहरूको पालना गरिरहेको सुनिश्चित गर्नु अझै पनि व्यक्तिको जिम्मेवारी रहेको सीबीपीको भनाइ छ।
कम्प्लायन्स चेकमा प्रयोग गरिने मितिहरू यात्रु देशमा प्रवेश गर्दा सीबीपी अधिकारीद्वारा तोकिएको आधिकारिक प्रवेश अवधिको आधारमा गणना गरिन्छ। यद्यपि, यदि यात्रुले नागरिकता र अध्यागमन सेवाहरू (युएससीआईएस) मार्फत आफ्नो भिसा बढाएको वा समायोजन गरेको छ भने उक्त जानकारी ‘ट्राभलर कम्प्लायन्स चेक’ पृष्ठमा नदेखिन सक्छ।
सीबीपीले ‘ट्राभलर कम्प्लायन्स चेक’ एक सहयोगी उपकरण मात्र भएको र यो कानूनी रूपमा बाध्यकारी निर्णय नभएको प्रष्ट पारेको छ। प्रवेशको सर्तहरूको उल्लङ्घन भयो वा भएन भन्ने बारेमा कानूनी रूपमा बाध्यकारी निर्णय अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तर्गतका अधिकारी वा स्टेट डिपार्टमेन्टद्वारा समीक्षा गरिसकेपछि मात्र गर्न सकिने सीबीपीले प्रष्ट पारेको छ।






