रोजगारमा आधारित कुनै पनि श्रेणीमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा भएन टसमस
प्रकाशित मिति : आश्विन २९, २०८२ बिहीबार
अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी नोभेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। नोभेम्बर महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।
रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति टसमस भएको छैन । १ डिसेम्बर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले नोभेम्बरमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न सक्नेछन् । त्यस्तै १५ जुलाई २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुनेले नोभेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।
त्यस्तै तेश्रो श्रेणीमा पनि ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा टसमस भएको छैन । तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि १ जुलाई २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले नोभेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने १ अप्रिल २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन स्वीकृत भइसकेकाहरुले नोभेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
अनस्किल्ड कामदारहरूको हकमा पनि मिति टसमस भएको छैन । १ डिसेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा नोभेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १५ जुलाई २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा नोभेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् । रोजगारमा आधारित चौथो श्रेणीमा पनि ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा टसमस भएको छैन ।








