अमेरिकाद्वारा २ महिना ढिलोगरी डिभी विजेताको विवरण सार्वजनिक, ३९३३ नेपालीलाई डिभी लोटरी
प्रकाशित मिति : आश्विन २९, २०८२ बिहीबार
अमेरिकाले नियमित भन्दा झण्डै २ महिना ढिलो गरी डिभी २०२६ का विजेताहरुको विवरण सार्वजनिक गरेको छ । सामान्यतया अगस्त वा सेप्टेम्बरको भिसा बुलेटिनमा डिभी विजेताहरुको विवरण सार्वजनिक गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले यसपटक भने नोभेम्बरको भिसा बुलेटिनमा मात्र विजेताहरुको विवरण सार्वजनिक गरेको छ । जस अन्तरगत डिभी २०२६ का लागि भिसा प्रकृया अगाडि बढाउन ३९३३ जना नेपालीहरु छनौट भएका छन् ।
लोटरी प्रणालीमार्फत लगभग १२९,५१६ सम्भावित आवेदकहरू छनौट गरिएको र उनीहरु आप्रवासी भिसाको लागि आवेदन दिन योग्य हुनसक्ने भिसा बुलेटिनमा उल्लेख गरिएको छ । छनोट भएका केही व्यक्तिहरूले आफ्नो आवेदन पूरा नगर्ने वा भिसाको लागि अयोग्य ठहरिने सम्भावना हुने भएकोले उपलब्ध भिसाभन्दा ठूलो संख्यामा विजेताहरु छनौट गरिएको विदेश मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०२६ का विजेताहरुले अक्टोबर १, २०२५ देखि सेप्टेम्बर ३०, २०२६ सम्म भिसा पाइसक्नुपर्छ ।
उनीहरु अक्टोबर २, २०२४ देखि नोभेम्बर ७, २०२४ सम्म ३७ दिनको आवेदन अवधिमा डिभी भरेकाहरु हुन् । यो अवधिमा कुल २ करोड ८ लाख २२ हजार ६२४ योग्य आवेदनहरु प्राप्त भएको र दर्ता भएका आवेदकहरूलाई लोटरीबाट छनोट गरिएको जनाइएको छ । कुनै पनि देशको लागि अधिकतम सात प्रतिशत भिसा सुनिश्चित गर्न भिसाहरू छ भौगोलिक क्षेत्रहरूमा विभाजन गरिने र भिसा अन्तर्वार्ताको क्रममा प्रमुख आवेदकहरूले उच्च माध्यमिक शिक्षा वा सो सरह, वा विगत पाँच वर्ष भित्र कम्तिमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्ने पेशामा दुई वर्षको कार्य अनुभवको प्रमाण प्रदान गर्नुपर्ने प्रष्ट पारिएको छ ।
छनौट भएकाहरूलाई आफ्नो आप्रवासी भिसा आवेदनहरूमा छिटो कारबाही गर्न सुझाव दिइएको छ । आवेदकहरूले आफ्नो सूचना पत्रमा दिइएका निर्देशनहरू पालना गर्नुपर्ने र सबै आवश्यक चरणहरू पूर्ण रूपमा पूरा गर्नुपर्ने विदेश मन्त्रालयको भनाई छ । अमेरिकामा बैध स्टाटसहरुमा रहेका डिभी विजेताहरुले युएससीआईएसमा सम्पर्क गरेर ग्रिनकार्डका लागि आवेदन दिन सक्ने ब्यूरो अफ कन्सुलर अफेयर्सको भनँई छ ।
कुल ५५ हजार भिसा नम्बरहरू प्रयोग गरिसकेपछि आर्थिक वर्ष २०२६ को लागि कार्यक्रम समाप्त हुने प्रष्ट पारिएको छ । आगामी महिनाहरूमा डिभी २०२७ कार्यक्रम दर्ता अवधिको मितिहरू व्यापक रूपमा प्रचार गरिने तथा डिभी २०२७ कार्यक्रममा प्रवेश गर्न इच्छुक व्यक्तिहरूले आगामी महिनाहरूमा विदेश मन्त्रालयको वेवसाइट हेर्नुपर्ने पनि भिसा बुलेटिनमा उल्लेख गरिएको छ ।
डिभी २०२६ का लागि सबैभन्दा धेरै लोटरी पर्नेमा नेपाल एसियामा तेश्रो नम्बरमा रहेको छ । पहिलोमा अफगानिस्तानका ४२ सय र दोश्रोमा इरानका ४१३७ जनाले डिभी लोटरी पारेका छन् । युरोपमा सबैभन्दा धेरै रसियाका ५५१० जनाले डिभी पारेका छन् । त्यस्तै युक्रेनका ५२८३ जनाले डिभी लोटरी पारेका छन् । अफ्रिकामा इजिप्टका ५५२७, अल्जेरियाका ५४५७ र सुडानका ५२२६ जनाले डिभी लोटरी पारेका छन् ।









