डिसेम्बरका लागि पनि बढाइएन डिभी विजेता नेपालीको केस नम्बर
प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार
डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेका छन् । पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य भएकोमा नोभेम्बरका लागि पनि सोही सिमाबन्दी नै कायम गरिएको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिसेम्बरका लागि पनि नेपालीहरुलाई ६ हजार केस नम्बरको सिमाबन्दी लगाइएको छ ।
डिभी २०२५ अन्तगत १४ हजार ४ सय ५० भन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा पाएनन् । सेप्टेम्बर ३० पछि डिभी २०२५ समाप्त भइसकेको छ । अक्टोबर १ देखि आर्थिक बर्ष २०२६ को डिभी सुरु भइसकेकाले डिभी २०२५ का १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुनेहरु निराश भएका हुन् ।
५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।
अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
डिभी पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।
सामान्यतया हरेक बर्ष अमेरिकी डिभी लोटरी अक्टोबरको पहिलोसाता खुल्ने भएतापनि डिभी २०२७ खुल्नमा भने ढिलाई भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीमा दर्ताका लागि अझै मिति घोषणा गरिसकेको छैन । कतिपयले यो ढिलाईलाई अमेरिकी सरकार शटडाउन र डिभीमा दर्ताका लागि १ डलर शुल्क तिर्ने नियम लागु गर्नका लागि प्रणालीको विकाशसँग जोडेका छन् । तर अमेरिकी विदेश मन्त्रालयले भने कारणबारे केही बताएको छैन ।
विदेश मन्त्रालयले डिभी लोटरी कार्यक्रमको घोषणा छिट्टै हुने स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा लोटरी कार्यक्रमको दर्ताका लागि १ डलर शुल्क तोक्ने अन्तिम नियम गत सेप्टेम्बरमा नै फेडरल रजिस्टरमा प्रकाशित गरेको थियो । यो नयाँ शुल्क डिभी भर्दा नै विद्युतीय माध्यमबाट सङ्कलन तिर्नुपर्नेछ । यस शुल्कबाट लगभग २५ मिलियन डलर आम्दानी हुने विदेश मन्त्रालयको अनुमान छ।
यो अन्तिम नियमले डीभी लोटरी सञ्चालनको लागतलाई अझ निष्पक्ष रूपमा बाँडफाँड गर्ने उद्देश्य राखेको फेडरल रजिस्टरको सूचनामा उल्लेख छ। लोटरी सञ्चालनको लागत डीभी आवेदन शुल्कबाट हटाइए पनि सफल आवेदकहरूले तिर्ने कुल शुल्क ३३० डलर भने तत्काल घटाइने छैन। सरकारले भविष्यमा गरिने मोडेल अपडेटमा डीभी आवेदन शुल्कको समीक्षा गर्ने बताएको छ ।
ट्रम्प प्रशासनले डीभी लोटरी आवेदकहरूका लागि पासपोर्ट अनिवार्य गर्ने नियम पनि प्रस्ताव गरेको छ, तर अन्तिम रूप दिन लाग्ने समयका कारण यसपटक यो नियम लागू नहुने भएको छ । यद्यपि यसलाई २ महिना अघि ट्रम्प प्रशासनले औपचारिक रूपमा प्रस्ताव गरेको हो, तर बाइडेन प्रशासनले सुरुमा गत वर्ष यसलाई लागू गर्ने योजना बनाएको थियो।
यसअघि जुन २०१९ मा ट्रम्प प्रशासनले डीभी आवेदनका लागि पासपोर्ट अनिवार्य गर्ने अन्तरिम नियम लागू गरेको थियो। तर न्यायाधीश टिमोथी केलीले उचित प्रक्रिया नअपनाई नियम लागू गरिएको भन्दै त्यसलाई खारेज गरिदिएका थिए।
अहिलेको ट्रम्प प्रशासनले कानुनी अनुपालन सुनिश्चित गर्दै पासपोर्टको आवश्यकतालाई पुनःस्थापित गर्न काम गरिरहेको छ। अगस्ट ५, २०२५ मा, प्रस्तावित नियम फेडरल रजिस्टरमा प्रकाशित भएको थियो, जसमा सेप्टेम्बर १९, २०२५ सम्म सार्वजनिक टिप्पणीको अवधि खुल्ला थियो ।






