परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक
प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार
नोभेम्बरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा स्थीरता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार प्राय सबै श्रेणीमा भिसा पाउने मितिमा टसमस भएको छैन । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधि बढेको छ ।
२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा नोभेम्बरका लागि पनि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ नै कायम छ । अर्थात् ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले नोभेम्बरमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।
त्यस्तै, ग्रिन कार्ड वाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने प्राथमिकता मिति नोभेम्बमा पनि १ फेब्रुअरी २०२४ नै कायम भएको छ । अर्थात् १ फेब्रुअरी २०२४ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले नोभेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि नोभेम्बरका लागि प्राथमिकता मिति १ साताको अग्रता कायम भएको छ । यो श्रेणीमा १ डिसेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले नोभेम्बरमा भिसा पाउन सक्नेछन्।
अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि नोभेम्बरमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ नै कायम गरिएको छ । ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई नोभेम्बरमा भिसा अन्तरवार्ता मिल्नसक्नेछ ।
त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा नोभेम्बरका लागि उप्राथमिकता मिति ८ जनवरी २००८ नै कायम गरिएको छ । यो मिति अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र नोभेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएको छ, अर्थात् २२ अक्टोबर २०२५ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा प्राथमिकता मितिमा थोरै अग्रता कायम भएको छ । अक्टोबरमा यो मिति १ जनवरी २०१७ रहेकोमा नोभेम्बरमा ८ मार्च २०१७ कायम भएको छ ।
अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा भने मिति टसमस भएको छैन । यो श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा अन्य श्रेणीमा पनि ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल भएको छैन । अक्टोबरकै कायम छ । जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ।
अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी र विवाहित छोराछोरीका लागि अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति नोभेम्बरमा पनि क्रमशः १ सेप्टेम्बर २०१७ र २२ जुलाई २०१२ नै रहेको छ।








