आइसका अधिकारीहरूले पक्राउ गरेपछि अमेरिकी मरीनका बुबालाई देश निकाला, आमा हिरासतमा


प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको क्यालिफोर्नियास्थित क्याम्प पेंडलटनमा सेवा गरिरहेका एक मरीनका आमाबुबालाई इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एजेन्टहरूले पक्राउ गरेपछि बुबालाई देश निकाला गरिएको घटना सार्वजनिक भएको छ ।

ओसिनसाइडका अमेरिकी मरीन स्टीभ रिओसका अनुसार उनका आमाबुबा एस्टेबान रिओस र लुइसा रोड्रिगेजलाई केही दिनअघि क्याम्प पेंडलटनको गेटमा आइस एजेन्टहरूले रोकेका थिए। पहिलो पटक उनीहरूलाई खुट्टामा इलेक्ट्रोनिक ट्रयाकर लगाएर छोडिएको थियो । केही दिनपछि पुनः जाँचका लागि बोलाइएपछि फेरि पक्राउ गरिएको हो। शुक्रबार उनका बुबालाई मेक्सिको पठाइएको एनबीसी ७ ले समाचारमा उल्लेख गरेको छ ।

स्टीभले भने, “मैले मरीनमा भर्ती हुनुको कारण मेरा आमाबुबा हुन्। उनीहरूले मेरो जीवनभर बिहानदेखि बेलुकासम्म गाडी धुने र घर सफा गर्ने काम गरेर मलाई ठूलो बनाएका छन्। म तिनीहरूलाई गर्व दिलाउन चाहन्थें।”

रिओस परिवारका अनुसार, एस्टेबान र लुइसाको कुनै आपराधिक इतिहास छैन । उनीहरूले स्टीभकै प्रायोजनमा ग्रीन कार्डका लागि आवेदन दिएका छन्। साथै, उनीहरूको कामको भिसा पनि स्वीकृतिको पर्खाइमा रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर सेप्टेम्बर २८ मा, स्टीभ र उनका आमाबुबा सँगै कान्छी छोरी एश्ली रिओस र उनका श्रीमन (जो एक मरीन पनि हुन्) लाई लिन क्याम्प पेंडलटन पुगेका बेला उनीहरूलाई रोकिएको थियो । त्यसपछि आइसका अधिकारीहरू आएर दुबै आमाबुबालाई पक्राउ गरेका हुन् ।

“डर लाग्यो,” स्टीभले भावुक हुँदै भने। “मलाई थाहा थिएन, यो अन्तिमपटक हो कि होइन, जब मैले आमाबुबालाई देख्दै थिएँ।”

उनका बुबा एस्टेबानले सो दिन “Proud Dad of a U.S. Marine” लेखिएको रातो टी-शर्ट र सेतो टोपी लगाएका थिए। स्टीभका अनुसार, उनका बुबाले त्यो पोशाक ‘भाग्यमानी’ ठानेका थिए।

आइसका प्रवक्ताले भनेका छन्, “नियमित कार्यको क्रममा, आइसले अमेरिकी इमिग्रेशन कानून उल्लङ्घन गर्ने वा अपराध गर्ने विदेशीहरूलाई पक्राउ गर्छ।”

वक्तव्यमा थप भनिएको छ, “अमेरिकी इमिग्रेशन कानून उल्लङ्घन गर्ने सबै विदेशीहरू पक्राउ र निर्वासनको कार्यवाहीमा पर्न सक्छन्।”

स्टीभकी बहिनी एश्लीले भनिन्, “यो धेरै कठिन छ। म गर्भवती छु र डेलिभरीका बेला आमालाई सँगै चाहन्थें। अहिले आमाबुबा बिना त्यो कल्पनै गर्न सक्दिनँ।”

रिओस परिवार अझै पनि अनिश्चिततामा छ । लुइसाको भविष्य के हुन्छ भन्ने स्पष्ट छैन। स्टीभले भने, “सायद उनीहरू फर्काइएला, सायद होइन। तर त्यसको निर्णय त माथि भगवानकै हातमा छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com