वाल्टर रीडमा राष्ट्रपतिको जाँचपछि चिकित्सकले भने – ट्रम्पको स्वास्थ्य अवस्था ‘असाधारण’


प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वॉल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा गरिएको व्यापक स्वास्थ्य परीक्षणपछि आफू “असाधारण स्वास्थ्य अवस्थामा” रहेको पुष्टि भएको बताएका छन्। ह्वाइट हाउसका चिकित्सक डा. सीन बारबरेल्लाले शुक्रबार जारी गरेको आधिकारिक पत्रमार्फत ट्रम्पको स्वास्थ्यबारे ताजा जानकारी सार्वजनिक गरेका हुन्।

डा. बारबरेल्लाका अनुसार ट्रम्पको “निरन्तर स्वास्थ्य योजना” अन्तर्गत गरिएको यस परीक्षणमा उन्नत इमेजिङ, प्रयोगशाला परीक्षण र रोकथाम सम्बन्धी मूल्याङ्कनहरू विशेषज्ञ चिकित्सकहरूको टोलीले सम्पन्न गरेको थियो। उनले लेखेका छन्, “यी मूल्याङ्कनहरू प्रमुख शैक्षिक तथा चिकित्सकीय सल्लाहकारहरूको सहयोगमा सम्पन्न गरिएका हुन्, जसले राष्ट्रपति ट्रम्पको मुटु स्वास्थ्य र समग्र तन्दुरुस्तीलाई सुनिश्चित गर्छ।”

गत समर सिजनमा ट्रम्पको हातमा गहिरा चोटका दाग र खुट्टा सुन्निएको देखिएपछि उनलाई क्रोनिक भेनस इन्सफिसिएन्सी (नसा प्रणालीमा रगतको प्रवाहमा समस्या हुने दीर्घकालीन अवस्था) भएको पुष्टि गरिएको थियो। तर, शुक्रबारको पत्रमा उक्त अवस्थाको नयाँ अद्यावधिक जानकारी दिइएन।

डा. बारबरेल्लाले भनेका छन्, “राष्ट्रपति ट्रम्प अझै पनि उत्कृष्ट समग्र स्वास्थ्यमा छन्। उनको ‘कार्डियाक एज’ (इसीजी मार्फत मुटुको उमेर मापन) उनको वास्तविक उमेरभन्दा झण्डै १४ वर्ष कम पाइयो।” उनले थपे, “ट्रम्प कुनै प्रतिबन्ध बिना आफ्नो दैनिक व्यस्त कार्यतालिका सहजै पूरा गरिरहेका छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले आगामी विदेश यात्राको तयारीका क्रममा फ्लु र नयाँ कोभिड – १९ बुस्टर खोप पनि लगाएका छन्।

पत्रको निष्कर्षमा भनिएको छ, “राष्ट्रपति डोनाल्ड जे. ट्रम्प असाधारण स्वास्थ्यमा रहेका छन्, मुटु, फोक्सो, स्नायुतन्त्र र शारीरिक प्रदर्शन सबै क्षेत्रमा बलियो छन्।”

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफु आफ्नो “अर्धवार्षिक शारीरिक परीक्षण”का लागि वॉल्टर रिड अस्पतालमा जाने तयारीमा रहेको जानकारी दिएका थिए । उनले भनेका थिए, “म सधैं चाँडै स्वास्थ्य जाँच गर्छु । समयमै जाँच गराउनु सबैका लागि राम्रो सन्देश हो।”

ट्रम्पले थपे, “मलाई लाग्छ म निकै राम्रो अवस्थामा छु। शारीरिक रूपमा पनि म ठिक छु, मानसिक रूपमा पनि म ठिक छु।”

यसअघि वसन्त ऋतुमा भएको अघिल्लो स्वास्थ्य परीक्षणपछि ट्रम्पले आफ्नो बौद्धिक परीक्षणबारे गर्वका साथ भनेका थिए, “मैले हरेक प्रश्नको सही उत्तर दिएको थिएँ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com