नेपालको अध्यागमनको रेकर्डमा छैनन् अमेरिकाबाट डिपोर्ट १७ नेपाली, तेश्रो देश पठाएको खुलासा


प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार

जनवरीदेखि जुलाई ३१ सम्मको अवधिमा २१६ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएको आइसको तथ्यांकमा उल्लेख छ । तर नेपालको अध्यागमन विभागको रेकर्ड अनुशार यो अवधिमा १९९ जनामात्र अमेरिकाबाट नेपाल डिपोर्ट गरिएकाहरु छन् । अर्थात् १७ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएर कता गए भन्ने तथ्यांक नेपालको अध्यागमन विभागसँग  छैन । यसबारे खसोखासले खोजी गर्दा उनीहरु अमेरिकाबाट तेश्रो देश डिपोर्ट भएको खुलासा भएको छ ।

खसोखासको अनुसन्धानमा  अमेरिकाबाट ती  नेपालीहरुलाई कोस्टारिका, कतार, भारत, बंगालादेश र क्यानडासमेत डिपोर्ट गरिएको खुलासा भएको हो । खसोखासले फ्रिडम अफ इन्फर्मेशन एक्टको प्रयोग गरी आइसबाट प्राप्त गरेको विवरण अनुशार ट्रम्प प्रशासनले जनवरी २० देखि जुलाई अन्तिमसम्म झण्डै ६ महिनाको अवधिमा कम्तीमा १५ जना नेपालीहरुलाई तेश्रो देश डिपोर्ट गरेको छ ।

ट्रम्प प्रशासन आउनु अगाडि नै जनवरीमा तेश्रो देश डिपोर्ट गरिएका २ जना नेपालीहरुको संख्या समेत जोड्दा जनवरीयता जुलाई अन्तिमसम्म १७ जना नेपालीहरु अमेरिकाबाट तेश्रो देश डिपोर्ट भएका छन् ।  यो बाहेक ट्रम्प प्रशासनले फेब्रुअरीमा ३ जना नेपालीहरुलाई पनामा डिपोर्ट गरेको विवरण सार्वजनिक भएपनि आइसबाट प्राप्त तथ्यांकमा यो संख्या भने समावेश गरिएको छैन ।

आइसबाट खसोखासलाई प्राप्त रेकर्ड अनुशार फेब्रुअरी १४ मा अमेरिका प्रवेश गरेका एकजना २२ बर्षीय नेपाली पुरुषलाई फेब्रुअरी १५ मा तीब्र गतिको देशनिकालाको आदेशपछि फेब्रुअरी २५ मा देशनिकाला गरेर कोस्टारिका पठाइएको थियो । उनी एरिजोनाबाट विना भिसा अमेरिका प्रवेश गरेका थिए भने उनीविरुद्ध अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै मार्च २६ मा एकजना ४३ बर्षका नेपाली पुरुषलाई शिकागोको अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार डिपोर्ट गरिएको थियो । उनी सन् २००४ मा अमेरिका प्रवेश गरेका थिए भने गतबर्षको नोभेम्बर २५ मा देशनिकालाको आदेश दिइएको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

त्यस्तै जनवरी २० मा पनि एकजना ३६ बर्षका नेपाली पुरुषलाई टेक्सासबाट कतार डिपोर्ट गरिएको थियो । उनी सन् २०१० मा अमेरिका प्रवेश गरेका थिए भने उनीविरुद्ध २ वटा अपराधका अभियोगहरु लगाइएको थियो । तर ती अभियोगहरु विचाराधिन अवस्थामा थिए । उनीविरुद्ध अध्यागमन अदालतबाट देशनिकालाको अन्तिम आदेश पनि जारी भएको थिएन ।

फेब्रुअरी २५ मा एकजना १९ बर्षका नेपाली पुरुषलाई एरिजोनाबाट मेक्सिको डिपोर्ट गरिएको थियो । उनी फेब्रुअरी १४ मा विनाभिसा अमेरिका प्रवेश गरेका थिए भने फेब्रुअरी २५ मा नै तीब्र गतिको देशनिकालाको आदेश दिइएको थियो । उनीविरुद्ध अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

त्यस्तै फेब्रुअरी २० मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट एकजना ५८ बर्षका नेपाली पुरुषलाई कतार डिपोर्ट गरिएको थियो । उनी सन् २००८ मा अमेरिका प्रवेश गरका थिए भने सन् २०१८ मा उनीविरुद्ध अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

गत अप्रिल ३ मा ३७ बर्षीय नेपाली पुरुषलाई सान फ्रान्सिस्कोबाट भारत डिपोर्ट गरिएको थियो । उनी सन् २०२४ को डिसेम्बर २७ मा अमेरिका प्रवेश गरेका थिए भने सन् २०२५ को फेब्रुअरी १४ मा अध्यागमन अदालतबाट देशनिकालाको आदेश दिइएको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

त्यस्तै जुन १० मा एकजना २८ बर्षका नेपाली पुरुषलाई एरिजोनाबाट बंगालादेश डिपोर्ट गरिएको थियो । उनी जनवरी २५ मा विनाभिसा अमेरिका प्रवेश गरेका थिए भने जनवरी २६ मा नै उनीविरुद्ध तीब्र गतिको देशनिकालाको आदेश दिइएको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

अप्रिल २७ मा लस एन्जलसबाट एकजना ६४ बर्षका पुरुषलाई कतार डिपोर्ट गरिएको थियो । उनी सन् २००२ मा अमेरिका आएका थिए भने उनीविरुद्ध अध्यागमन अदालतबाट देशनिकालाको आदेश भइसकेको थिएन । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।
फेब्रुअरी २६ मा पनि बोस्टनबाट एकजना २८ बर्षका नेपाली पुरुषलाई कतार डिपोर्ट गरिएको थियो । उनी सन् २०१७ मा अमेरिका आएका थिए भने उनीविरुद्ध २०१८ मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो । उनीविरुद्ध २ वटा अपराधका अभियोगहरु विचाराधिन थिए ।

त्यस्तै फेब्रुअरी २ मा टेक्सासको डालसबाट एकजना ३७ बर्षका नेपाली पुरुषलाई कतार डिपोर्ट गरिएको थियो । उनी सन् २०१० मा अमेरिका आएका थिए भने मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा सन् २०११ मा दोषी ठहर भएका थिए । उनीविरुद्ध २०१७ मा अध्यागमन अदालतलबाट पनि देशनिकालाको आदेश भएको थियो ।

फेब्रुअरी २१ मा पनि ३३ बर्षका नेपाली पुरुषलाई सान फ्रान्सिस्कोबाट भारत डिपोर्ट गरिएको थियो । उनी सन् २०१४ मा अमेरिका आएका थिए भने सन् २०२१ मा अध्यागमन अदालतले देशनिकालाको अन्तिम आदेश जारी गरेको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

अप्रिल २४ मा शिकागोबाट ५८ बर्षका नेपाली पुरुषलाई भारतमा डिपोर्ट गरिएको थियो । उनी सन् २०१० मा अमेरिका आएका थिए भने सन् २०१६ मा उनीविरुद्ध देशनिकालाको आदेश जारी भएको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

अप्रिल ७ मा सान फ्रान्सिस्कोबाटै एकजना २३ बर्षका नेपाली पुरुषलाई भारत डिपोर्ट गरिएको थियो । उनी २०२५ को जनवरी २१ मा विनाभिसा अमेरिका प्रवेश गरेका थिए भने मार्च ११ मा उनीविरुद्ध देशनिकालाको आदेश जारी गरिएको थियो । उनीविरुद्ध पनि अध्यागमन कानून उल्लंघनका ३ वटा अभियोगहरु लगाइएको थियो ।

फेब्रुअरी ५ मा एकजना २३ बर्षका नेपाली पुरुषलाई न्युयोर्कको बफेलोबाट क्यानडा डिपोर्ट गरिएको थियो । उनी सन् २०२४ को अक्टोबर १३ मा अमेरिका प्रवेश गरेका थिए भने उनीविरुद्ध अध्यागमन अदालतबाट देशनिकालाको आदेश जारी भइसकेको थियो ।

त्यस्तै अप्रिल १० मा एकजना ४५ बर्षका नेपाली पुरुषलाई भारत डिपोर्ट गरिएको थियो । उनी २०२४ को डिसेम्बर २७ मा अमेरिका प्रवेश गरेका थिए भने २०२५ को फेबु्रअरी १३ मा उनीविरुद्ध देशनिकालाको आदेश जारी भएको थियो । ट्रम्प प्रशासनले तेश्रो देशमा देशनिकाला गरेकाहरु त्यहाँबाट कता गए भन्ने प्रष्ट छैन । उनीहरुका बारेमा नेपालको अध्यागमनले पनि कुनै विवरण ट्रयाक गर्न सकेको छैन ।

(यस अघिको समाचारमा नेपालको अध्यागमन विभागसँग रेकर्ड नभएका नेपालीको संख्या १७ हुनुपर्नेमा १८ भएकोमा सच्याइएको छ । अमेरिकाबाट डिपोर्ट भएका नेपालको अध्यागमन विभागसँग रेकर्ड भएका नेपालीहरुको संख्या १९९ हो, १९८ होइन ।)

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com