अमेरिका-मेक्सिको सिमाना: सान डिएगो क्षेत्रमा १० माइल लामो नयाँ पर्खाल बन्ने


प्रकाशित मिति : आश्विन १६, २०८२ शुक्रबार

अमेरिकी भन्सार तथा सिमाना सुरक्षा (सीबीपी) ले अमेरिका र मेक्सिकोको सिमानामा रहेको सान डिएगो क्षेत्रमा नयाँ पर्खाल र उच्च प्रविधिको निर्माणको योजना बनाएको छ। सिमाना सुरक्षा पूर्वाधारलाई सुदृढ पार्ने बृहत् प्रयासको एक भागका रूपमा, सीबीपी ले सान डिएगो काउन्टीको ओटे मेसा नजिक र टेकाटे पोर्ट अफ इन्ट्रीको पूर्व तथा पश्चिम दुवैतर्फका दुई अत्यधिक आवागमन हुने क्षेत्रहरूमा झन्डै १० माइल (करिब १६ किलोमिटर) नयाँ सिमाना पर्खाल निर्माण गर्ने योजना बनाएको छ।

नयाँ पर्खाल निर्माण सान डिएगो क्षेत्रमा गरिने बृहत् पूर्वाधार विस्तारको एउटा अंश मात्र भएको सीबीपीको भनाइ छ। झन्डै १० माइल पर्खाल निर्माणका अतिरिक्त, सीबीपीले विद्यमान सिमानाका बारहरूमा प्रकाश, निगरानी क्यामेरा, गस्ती सडक र अन्य प्रविधिहरू सहित ५० माइलभन्दा बढी (करिब ८० किलोमिटर) पर्खालमा प्रणालीगत स्तरोन्नति गर्ने योजना बनाएको छ।

सीबीपीको विश्वास छ कि थप गर्न लागिएका प्रकाश, सडक र प्रविधिले एजेन्टहरूलाई गैरकानुनी सिमाना पार गर्ने गतिविधिहरूमाथि अझ प्रभावकारी रूपमा काम गर्न र समयमै प्रतिक्रिया दिन मद्दत गर्नेछ। यी सुधारहरू महत्त्वपूर्ण सुरक्षा खाली ठाउँहरू बन्द गर्न र प्रायः दुर्गम क्षेत्रहरूमा एजेन्टहरूको प्रतिक्रिया समय सुधार गर्न लक्षित छन्।

सान डिएगो क्षेत्रमा गत महिना भिसाविहीन अवस्थामा अमेरिका प्रवेश गर्न खोज्ने जम्मा ७१५ जना फेला परेका थिए। यो सङ्ख्या अगस्ट २०२४ को तुलनामा ९५ प्रतिशतले कम हो। यस निर्माणका लागि संसदबाट हालै पारित विधेयकबाट रकम विनियोजन भएको हो, जसले राष्ट्रव्यापी सिमाना पर्खाल निर्माण र मर्मतसम्भारका लागि २०२९ सम्मका लागि ४६ बिलियन डलरभन्दा बढी रकम छुट्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय सरकारले पर्खाल निर्माणलाई छिटो बनाउन वातावरणीय अध्ययनमा छूट  प्रयोग गरिरहेको छ, जसले गर्दा वातावरण अभियन्ताहरूबाट आलोचना भइरहेको छ। अभियन्ताहरूले वन्यजन्तुले आफ्नो सुरक्षा गुमाउने भन्दै आलोचना गरेका हुन्। वातावरणविद्हरूको भनाइ छ कि नयाँ पर्खालहरूले गम्भीर वन्यजन्तु वासस्थानहरूलाई खण्डित पार्नेछ र क्यालिफोर्निया-मेक्सिको सिमानामा पाइने ठूला सिङ्ग भएका भेडा र पहाडी सिंह जस्ता प्रजातिहरूको बसाइँसराइलाई रोक्नेछ।

यी वन्यजन्तुहरू हजारौँ वर्षदेखि खाना र पानीको खोजीमा सिमाना पार गर्दै आएका छन्। पर्खाल बनेपछि उनीहरूको आवागमन पनि अवरुद्ध हुनेछ। गत जुलाईमा एरिजोनामा यस्तै वातावरणीय छूटहरू प्रयोग गरेकोमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरिएको थियो। त्यो कानुनी लडाइँ अझै जारी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com