आदेशमा हस्ताक्षर गर्दै ट्रम्पको घोषणा – ‘कतारमाथि आक्रमण अमेरिकामाथिको आक्रमण सरह’
प्रकाशित मिति : आश्विन १४, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कतारमाथि हुने कुनै पनि सशस्त्र आक्रमणलाई अमेरिकाको शान्ति र सुरक्षामाथिको प्रत्यक्ष खतरा मानिने घोषणा गरेका छन् ।
उक्त आदेशमा भनिएको छ, “यदि कतारमाथि आक्रमण भयो भने, अमेरिकाले वैधानिक र उपयुक्त सबै कदम (कूटनीतिक, आर्थिक र आवश्यक परे सैन्य) चाल्नेछ, जसले अमेरिकाको र कतारको हितको रक्षा गर्नेछ र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्नेछ।”
कतारी अधिकारीले अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई जानकारी दिँदै यो आश्वासन इजरायलले सेप्टेम्बर ९ मा कतारको राजधानी दोहामाथि बम आक्रमण गरेपछि आएको बताएका छन्।
इजरायलले हमासका नेताहरू दोहामा भेला भएको भन्दै आक्रमण गरेको दाबी गरेको थियो। हमासलाई अमेरिका र इजरायल दुवैले आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेका छन्।
कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य बेस अल-उदीद एयर बेस अवस्थित छ, जहाँ हजारौँ अमेरिकी सैनिक तैनाथ छन्। यसअघि नै राष्ट्रपति जो बाइडेनले कतारलाई “मुख्य गैर-नाटो सहयोगी”को रूपमा मान्यता दिएका थिए।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वाशिङ्टनमा राष्ट्रपति ट्रम्पसँग भेटघाटका लागि पुगेका थिए। भेटघाट मुख्यतया गाजामा युद्ध अन्त्य गर्न ट्रम्पले अघि सारेको प्रस्तावित इजरायल–हमास युद्धविराम सम्झौतामाथि केन्द्रित भए पनि, नेतन्याहुले दोहामाथिको आक्रमणबारे कतारसँग माफी मागेका थिए।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री नेतन्याहुले कतारमा हमास लक्ष्यविरुद्ध भएको इजरायली क्षेप्यास्त्र आक्रमणमा अनिच्छित रूपमा एक कतारी सैनिकको मृत्यु भएकोमा गहिरो खेद व्यक्त गर्नुभयो।”
त्यस्तै, नेतन्याहुले कतारको सार्वभौमिकता उल्लङ्घन भएको स्वीकार गर्दै भविष्यमा यस्ता आक्रमण नदोहोरिने आश्वासन दिएका थिए।
दोहामाथिको आक्रमणले कतारभित्र ठूलो स्तब्धता ल्याएको छ र कतारको अमेरिकी सुरक्षासँगको सम्बन्धबारे प्रश्न उठाएको छ। आक्रमणपछि नेतन्याहुले धम्की दिँदै कतारले आफ्नो भूमिबाट हमासका राजनीतिक प्रतिनिधिहरूलाई निष्कासन नगरेमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिएका थिए ।
यसैबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै “हमासलाई समाप्त पार्नु योग्य लक्ष्य हो” भनेका थिए। तर, उनले कतारी प्रधानमन्त्रीसँग प्रत्यक्ष कुरा गरेर “यस्तो घटना फेरि कतारको भूमिमा नहुने” आश्वासन दिएका थिए ।








